बिर्तामोड । केटी साथीसँग बिर्तामोडको एभरेष्ट होटलमा बसेका झापा हल्दिबारीका सागर बेस्राको गयराति मृत्यु भएको छ । बेस्राको मृत्यु भएपछि प्रहरीले मृतकको गर्ल फ्रेण्ड र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
बिर्तामोड-४ को एभरेस्ट होटल एण्ड लजमा हल्दिवारी-१ गोलधापका ३० बर्षीय बेस्रा र उनको गर्ल फ्रेण्ड सुनसरीको धरान-१५ घर भई हाल कनकाई-७ दुर्गापुर बस्दै आएकी २३ बर्षीया मुना बिक होटलमा बसेका थिए ।
राती खाना खाएर सुतेको समयमा बेस्रा कोठाभित्र बाथरुमको ढोकाको छेउ भुँईमा लडेर बेहोस भएको प्रहरीले जनाएको छ ।
बेस्रालाई तत्काल नै बिक र होटल सञ्चालकले उपचारको लागि अस्पताल पुर्याएका थिए । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
बेस्राको मृत्युु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीले होटल सञ्चालक यामकुमारी उप्रेती र बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।