भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को तयारी तीब्र बनाइएको छ । गोल्डकप र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) को रुपमा बुधबार सम्झौतामा हस्ताक्षर भएको छ ।

भद्रपुरस्थित होटल एअरपोर्टको सभाहलमा भएको सम्झौतापत्रमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र सौर्य एअर तथा ओमसाई पाथिभरा हस्पिटलका तर्फबाट अध्यक्ष दिपक पोखरेलले हस्ताक्षर गरे ।

हस्ताक्षरसँगै अब ‘सौर्य एअरलाइन्स तथा ओमसाई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको सम्मानस्वरुप ‘गम्भीर राई स्मृति संस्करण’ का रुपमा सञ्चालन हुनेछ ।

आयोजकले जनाएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, नेपालका विभागीयसहित ५ वटा ए डिभिजन क्लब तथा भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लबको सहभागिता रहने गोल्डकपका अध्यक्ष ढकालले बताए । केही दिनमै खेलतालिका सार्वजनिक गरिने गोल्डकपका महासचिव जीवनकुमार श्रष्ठले बताए ।

कार्यक्रममा सौर्य एअरलाइन्स तथा हस्पिटलका अध्यक्ष पोखरेलले आफ्नो ठाउँमा भएको प्रतियोगिताका लागि पहिलो प्राथमिकता स्थानीयले सहयोग गर्नुपर्ने आफ्नो मान्यता रहेकाले मुख्य प्रायोजन गरेको जानकारी दिए । गोल्डकपको संरक्षक भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले प्रतियोगिता आयोजनाले खेल क्षेत्र उत्साह छाएको बताए । उपप्रमुख राधा कार्की, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले सम्बोधन गरेका थिए  ।