बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघले आयोजना गरेको `बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ को´ पुर्ण तयारी भएको जनाएको छ ।

महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी सोमबार संघले महोत्सवको पुर्ण तयारी भएको जानकारी दिएको हो ।

माघ ८ देखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा पूर्वी नेपालमा व्यापार, कृषि, उद्ययमशीलता, पर्यटन र स्वरोजगारको क्षेत्रमा परिचित ब्यवसाय र उत्पादनको स्टल राखिने जनाएको छ । महोत्सवको मुख्य प्रायोजक एपोलो पेन्ट्स रहेको छ । उद्योग व्यापारको प्रर्वधनका लागि आयोजित यो महोत्सवको  भोली अर्थात माघ ८ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने संघका अध्यक्ष राजु न्यौपानेले बताए । 

बिर्तामोड–५ स्थित धर्मकाँटा रोडमा आयोजना गर्न लागिएको महोत्सवमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको छ । महोत्सवमा १५० वटा स्टलहरु रहनेछन् भने व्यवसायीहरुले देश विदेशका विभिन्न स्थानमा उत्पादित सामग्रीहरुको भण्डारण, वितरण र निर्यातको काम गरिरहेका छन् । अलैंची, अदुवा, कुचो, सुपारी, मसला जस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रर्वधन गर्ने आयोजकको अपेक्षा रहेको अध्यक्ष न्पौपानेले जानकारी गराए । 

महोत्सवले व्यवसायीमार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी वस्तु उत्पादन गरेर रोजगार सृजना गराउन थप बल प्रदान गर्ने संघको विश्वास छ । त्यस बाहेक मित्रराष्ट्र भारत, भुटान, बंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादन पनि सो महोत्सवमा रहने अध्यक्ष न्यौपानले बताए । 

महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले जानकारी दिए । 

महोत्सवमा राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहनेछ भने विभिन्न जात जातिका कला संस्कृतिहरुलाई समेत समेटिने छ । महोत्सव अवधिभर दुई लाख भन्दा बढी अवलोकन कर्ताले व्यापार महोत्सवको अवलोकन गर्ने  आयोजक संस्थाले अपेक्षा गरेको छ ।  महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा सीसी क्यामेराको  जडान, स्थानीय प्रशासनसँगको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समेत आवश्यक सहयोग लिएको, थप उल्लासमय बनाउन बालबालिकाहरुलाई लक्षित गरी मनोरञ्जन पूर्ण खेलहरु समेतको व्यवस्थापन गरेको महासचिव कुशल खतिवडाले बताए । 

संघका बरिष्ठ उपाध्यक्ष विशाल थापाको संयोजकमा महोत्सवको आयोजना गरिएको छ । महोत्सवको उद्घाटन दर्जनभन्दा बढी विभिन्न जातिका भेषभूषा, बाजागाजा, सामाजिक संघसंस्था, उद्योगी व्यवसायी र सुवेक्षुकहरुको उपस्थितिमा संघको कार्यालयबाट नगर परिक्रमा जनाएको छ । पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष गोमा भट्टराईले गरेकी थिइन् । 

पत्रकार सम्मेलनमा धार्मिक तथा सामाजिक ब्यक्तित्व शेरबहादुर थापा, महोत्सवका ब्यवस्थापक ललीत सिंखडा संघका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहेको थियो ।