धुलाबारी । उपसभामुख इन्दिरा राना मगरले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न छलफल चलाउने बताएकी छन् ।
मेची चेम्बर अफ कमर्सद्वारा आजदेखि माघ १२ गतेसम्म सञ्चालन शुरु गरेको दोस्रो मेची महोत्सव-२०८१ को उद्घाटनपाछी प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य एबम् उपसभामुख मगरले उक्त कुरा बताएकी हुन् ।कृषि र पर्यटन क्षेत्रकाे पर्याप्त सम्भावना भएको बताउँदै उनले कृषि उत्पादनलाई प्रोत्साहन गर्न सांसदमा छलफल चलाएर निकासको पहल गर्ने बताएकी हुन् ।
कार्यक्रममा बिशिस्ट अतिथि रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार लिम्बुले कृषि उत्पादन, प्रशोधन र बजारीकरणलाई ब्यवस्थापन गर्न सके प्रशस्त सम्भावना रहेको बताए ।
चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमलीले कृषक र कृषि उद्यमीलाई सरकारले वेवस्ता गरेकाले सम्भावना बोकेको क्षेत्रमा समस्या आएको बताए ।
कार्यक्रममा मेचीनगर-१० का अध्यक्ष नारायण खनाललगायतले सम्बोधन गरेका थिए । रबिनकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न महोत्सव उद्घाटन कार्यक्रममा शान्तिराम चिमरियाले स्वागत र प्रकाश खड्काले सञ्चालन गरेका थिए ।
मेचीनगरमा सामुदायिक, निजी विद्यालय र संघ-संस्थाबाट सहभागीहरुले लागुऔषध दुर्ब्यशन नियन्त्रण सम्बन्धि जनचेतना जगाउने प्लेकार्डसहित र्याली धुलाबारी मोड परिक्रमा गरेको थियो ।
स्थानीय क्षेत्रकाे कृषि तथा उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धन, पहिचानसहित बजारीकरण र लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले सुरु गरिएको महोत्सवमा २० वटा कृषिजन्य स्टल राखिएको जनाएको छ ।