झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बिर्तामोडस्थित महासंघको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रमकाबीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व.पाठककी श्रीमती सीता र बुहारी हिमालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट उक्त रकम सहयोग प्रदान गरेको हो ।

कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र भीम नेम्वाङले झापाली पत्रकारितामा स्वर्गीय पाठकको योगदानको चर्चा गर्दै पत्रकारका परिवारमा महासंघले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । स्व. पाठक महासंघ झापाका पूर्व सचिव तथा प्रेस चौतारी भापाका संस्थापक अध्यक्ष हुन् ।

पाठक परिवारको तर्फबाट बुहारी हिमाले महासंघ झापाको काम अनुकरणीय भएको बताउदै धन्यवाद ज्ञापन गरिन् ।

महासंघ झापाले पत्रकार सहारा उपचार कोषको कार्यविधिमै महासंघका सदस्यको मृत्यु भएमा परिवारलाई अधिकतम् एकलाख रुपैयाँसम्म प्रदान गर्ने यसैवर्षबाट व्यवस्था गरेको छ ।

गत अधिवेशनबाट पारित कार्यविधि अनुसार सदस्यको मृत्यु पश्चात पहिलो पटक महासंघले उक्त रकम प्रदान गरेको महासंघका कोषाध्यक्ष एवम् कोषका सदस्य सचिव रञ्जित प्रसाईले जानकारी दिए ।

त्यस्तै यसैसाता महासंघ झापाका सदस्यहरु तीन जना महिला पत्रकारलाई सुत्केरी वापत जनही २५ हजार रुपैयाँका दरले सुविधा रकम प्रदान गरेको छ ।
पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा हाल एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ ।
०८१ वैशाख ३ गते कोषमा उक्त रकमको घोषणासहित दाताहरुलाई सम्मान गरिएको थियो । कोषको ब्याजबाट पत्रकारहरुको सामाजिक सुरक्षामा सहयोग प्रदान गरिँदै आएको छ ।

पत्रकार सहारा उपचार कोष मार्फत महिला पत्रकार सुत्केरी हुँदादेखि महासंघका सदस्यको मृत्यु पश्चातसम्म परिवारजनलाई सहयोग पु¥याउने कार्यले श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षामा महत्वपूर्ण टेवा पुग्दै आएको छ ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।