झापा । अर्थ मन्त्रालयको दबाबमा भन्सार बिभागले १० महिना नपुग्दै देशका प्रमुख सीमा क्षेत्रका भन्सार प्रमुख फेरबदल गरिएको छ । देशमा बदलिएको राज्य समीकरणपछि मेची, नेपालगञ्ज भैरहवा, कृष्णघाट भन्सार कार्यालयका प्रमुखहरूलाई १० महिना नपुग्दै फेरबदल गरिएको छ।
अर्थमन्त्री परिवर्तन भएपछिको नियमित सचिवदेखि विभागीय प्रमुखसम्मको सरूवा हुँदै आएको छ। २०८० कात्तिकमा जिम्मेवारी सम्हालेका यी प्रमुखहरू सोमबार सरूवामा परेका हुन्। १० महिना नपुग्दै सरूवामा परेका भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमलाई भन्सार जाँचपास परीक्षण कार्यालयमा सरूवा गरिएको छ।
त्यस्तै उपसचिव रामप्रसाद रेग्मीलाई मेची भन्सार कार्यालयबाट भैरहवा भन्सारमा र ध्रुवराज विश्वकर्मालाई नेपालगञ्जबाट गौतम बुद्ध विमानस्थल भन्सार कार्यालयमा! मानबहादुर पौडेललाई कृष्णघाट भन्सार कार्यालयबाट जनकपुर भन्सारमा सरूवा गरिएको छ। सोमबार भन्सारसँग सम्बन्धित १९ जना उपसचिवहरूको सरूवा गरिएको थियो।
कर्मचारीहरूले यो पटकको सरूवालाई शंका र असन्तुष्टिका दृष्टिले हेरिरहेका छन्। अहिले भन्सारमा सबै नयाँ अनुहार देखिएको छ। भन्सार अन्तर्गत पाँच जना सहसचिव हुने गरेकोमा पाँच जना नै परिवर्तन भएका छन्।