झापा । यात्रुको चाप बढेपछि यात्रु विमान कम्पनीहरुले टिकटको मूल्य दर दोब्बरले बढाएपछि व्यापक आलोचना भएको छ ।

बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध भएपछि एक्कसी दोब्बरले टिकट मूल्य बढाएको विरुद्धमा आलोचना भएको हो ।

भद्रपुर-काठमाडौको साबिकको भाडादर ६ हजार २ सय भएपनी यातायात अवरुद्धपछि १२ हजार २ सय बढी तोकिएको छ ।
प्राकृतिक बिपद्मा परेका बेला स्थलगत यात्रुहरुले यातायातका साधन नचल्ने र त्यसको विकल्पमा हवाई यात्रा गर्न सर्वसाधारणको चाप बढेको छ । सोहिबेला बाढीपहिरोका कारण अहिले विभिन्न जिल्लाबाट काठमाडौँ आउने मुख्यराजमार्ग अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्पका रुपमा रहेको हवाई उडानको भाडादरमा उल्लेख्य वृद्धि भएपछि आलोचना भएको हो । हवाई इन्धनको भाउ नबढी यात्रुको चाप बढ्दा मूल्य दोब्बरले वृद्धि गर्नु हवाई कम्पनीले लुट मच्चाएको भनी सर्वसाधारणले गुनासो गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने  । वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्ष मनोज कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज बनाउन आफूहरु लागेको दाबी गरे ।

श्री एयरलाइन्सका संस्थागत प्रवन्धक अनिल मानन्धरले नियमित दरमै टिकट उपलब्ध गराइरहेको दाबी गरे ।  तर,मानन्धरको भनाई बिपरित भाडादर नेटमा राखिएको छ । काठमाडौँ–विराटनगरको एकतर्फी सात हजार पाँच सय बिक्री भइरहेको अवस्थामा विमान कम्पनीहरुले बढाएर नौ हजार नौ सय पुर्याएको जनाइएको छ । साथै काठमाडौँ–धनगढीको एकतर्फी भाडा १७ हजारसम्म निर्धारण गरिएको छ । हाल काठमाडौँ प्रवेश गर्ने मुख्य नाकामा सडक अवरुद्ध छ । यस्तो अवस्थामा यात्रुहरुसँग हवाई उडानको विकल्प छैन । काठमाडौँ भित्रने धादिङ्को झ्याप्ले खोलामा पहिरो खस्दा यातायात अवरुद्ध छ । काठमाडौँबाट तराई जोड्ने विपी राजमार्गको रोशिखोलालगायत स्थानमा पहिरोले सडक बगाएपछि काठमाडौँ आवतजावत गर्ने सवारी साधन रोकिएका छन् । हाल देशभरका ४१ राजमार्गमा ६४ स्थानमा सडक अवरुद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुनीलबाबु ढकालले जानकारी दिए।