काकरभिट्टा । लागू औषधसहित पक्राउ परी काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । तीन दिनअघि लागू औषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका-७ निवासी २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतभित्र रहेका खड्का बिरामी परेपछि धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा सोही अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो ।

साउन १३ गते बिहान ९ः४५ बजे मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा खड्का पक्राउ परेका थिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई चेकजाँच गर्दा प्लास्टिकले पोका पारेर बायाँ हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उक्त लागू औषध मेचीनगर नगरपालिका-७ का ३० वर्षीय खड्गबहादुर दर्जीले भारतबाट खरिद गरी काँकडभिट्टासम्म पुर्‍याई दिनु भनी पठाएको पक्राउ परेका खड्काले प्रहरीसमक्ष भनेका थिए । त्यसपछि मे २ प ८५४१ नम्बरको मोटरसाइकलसहित दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको थियो ।