अर्जुनधारा । झापाकाे शनिश्चरे-बिर्तामाेड सडक खण्ड स्थानीयले पुनः अवरुद्ध गरेका छन् । निर्माणमा ढिलाई भएकाे भन्दै स्थानीयले मंगलबारदेखि सडकमा बास र पानीको ड्रम तेर्स्याएर अवरुद्ध पारेका हुन् ।
गत २०८० जेठ ९ गते निर्माण सम्पन्नको अन्तिम मिति भएपनी हालसम्म आधा पनि काम भएको छैन । सडकबीचमा ठुला-ठुला खाल्डा परेका कारण यहाँ सवारी साधन सञ्चालनमा समस्या उत्पन्न हुँदै आएकाे छ । राजमार्गदेखि झण्डै डेढ किलाेमिटरकाे याे खण्ड निर्माण सुरु नै भएकाे छैन ।
पीडापछि स्थानीयको आक्रोश:
समयमा सडक निर्माण नभएपछी स्थानीयका अनुसार सडक जीर्ण भएका कारण धेरै पटक सवारी दुर्घटनामा परेका छन् । पानी परेका बेला हिलाम्ये हुने यस सडकमा सवारी सञ्चालन हुन नसक्ने भएपछि स्थानीयले मंगलबार ११ बजेदेखि ढाट तेर्स्याएर अवरुद्ध गरेकाे जनाएका छन् । स्थानीय राजेश पाैडेलले सडक निर्माण गर्न सुरु नगरी अवराेध नहटाउने बताएका छन् । सडकका खाल्डाका कारण सवारी साधन सञ्चालनमा कठिनाई हुने भएकाले बन्द गरिएकाे हो ।
प्रविण मैनाचुली शान्ति’ जेभीको चरम लापरबाही:
सडक निर्माण गर्नका लागि ‘प्रविण मैनाचुली शान्ति’ जेभीले ठेक्का पाएको थियो । समयमा रकम निकासा नहुँदा निर्माणकार्य समयमै गर्न नसकिएको ठेकेदार संस्थाले जनाएको छ ।
गत जेठ ९ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण हुनुपर्ने गरी २०७९ जेठमा ठेक्का लागेको सो सडकको निर्माण कम्पनीले मागेको रकम राज्यले समयमा भुक्तानी गरेको थिएन ।
१५ करोड ६० लाखको लागत:
१५ करोड ६० लाख रुपैंयाँमा ठेक्का लागेको सो सडक बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारी हुँदै लक्ष्मीपुरबाट कालिस्तानसम्म ६ दशमलब २ किलोमिटरको हुने छ । बिर्तामोडदेखि दासपुलसम्म दुई लेन, दासपुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख छ ।
सूचना पाटी पनि राख्दैन:
योे सडक शंकास्पद रुपले निर्माण भइरहेका छ । निर्माणस्थलमा आयोजना सुचना पाटी नराखेका कारण यहाँको लगानीका बिषयमा स्थानीयले थाहा पाएका छैनन् । उनीहरुले सडकको संरचना तथा ठेक्का लागेको रकमको अंक समेत थाहा नपाएको बताएका छन् । निर्माण कम्पनीले स्थानीयले आलोचना गरेपनि आयोजना सुचना पाटी राखेको छैन ।
यसअघि साेही सडककाे दासपुल कप्तानबाडी खण्डकामा लामाे समय स्थानीयले अवराेध गरेपछि निर्माण भएकाे थियाे । साढे १ किलाेमिटरकाे त्यस खण्ड निर्माणका लागि रकम निकासा भएपछि अर्जुनधारा नगरपालिकाकाे पहलमा निर्माण सम्पन्न भएकाे हाे ।