बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषमा पत्रकार राजेन्द्र गौतमले आर्थिक सहयोग गरेका छन् ।

जनपक्षीय पत्रकार देवकुमार आचार्य(डी. कौडिन्य) को स्मृतिमा स्थापित पुरस्कारको लागि स्थापित अक्षयकोषमा पत्रकार गौतमले ५ हजार १ सय नगद सहयोग गरेका हुन् । 

हिमालय टाइम्सका झापा सम्वाददातासमेत रहेका नेपाल प्रेस युनियनका नेता गौतमले साउन ७ गते डि-कौडिन्य पत्रकारिता बितरण समारोहमा नगद पाँच हजार एक रुपैयाँ सहयोग गर्ने वचन दिएका थिए ।

जनपक्षीय पत्रकार आचार्यलाई २०५९  साउन ७ गते चारआलीस्थित सेनाको ब्यारेकमा हत्या गरिएको थियो । आचार्यको स्मृति दिवसको अवसरमा प्रत्येक वर्ष साउन ७ गते प्रेस सेन्टर झापाले उत्कृष्ट जनपक्षीय पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ । 

पुरस्कार वितरणलाई नियमित र सहज बनाउनका लागि कोष स्थापना गरिएको प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकले जानकारी दिए । पाँच हजार रुपैयाँबाट शुरू गरेको पुरस्कार राशि यो वर्षबाट वृद्धि गरी ४२ हजार रुपैयाँ पुर्याइएको उपाध्यक्ष होमप्रकाश अधिकारीले जानकारी दिए । दश लाख रुपैयाँको कोष बनाउने लक्ष्य राखिएको बताउँदै उनले कोषमा सहयोग गरिदिन सबैलाई आग्रहसमेत गरे ।