काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँँ बराबरको बिजुली भारत निर्यात गरेको जनाएको छ । प्राधिकरणले उक्त अवधिमा १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् निर्यात गरेको हो
सोही अवधिमा भारतबाट १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात भएको छ । अर्थात् एक वर्षमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँ बढीको विद्युत् निर्यात गरेको प्राधिकरणको तथ्यांक छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको हो । यस्तै, मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई पनि विद्युत् बेच्ने गरेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा आपूर्ति गर्दै आएको छ ।
हिउँदमा उत्पादन घट्दा भने प्राधिकरणले विद्युत् आयात गर्दै आएको छ । गत वर्ष प्राधिकरणले १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् भारतबाट आयात गरेको थियो । प्राधिकरणका अनुसार निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा छ भने आयातको औसत दर प्रतियुनिट ९ रुपैयाँ १७ पैसा छ ।
आयातभन्दा निर्यात बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘६/७ वर्षअघिसम्म आयातकर्ताको मात्र अवस्था थियो, ३ वर्षअघिदेखि निर्यात थालियो,’ उनले भने, ‘थोरै परिमाणमा भए पनि गत आर्थिक वर्षदेखि खुद निर्यातकर्ता बनेका छौं, यो महत्त्वपूर्ण उपलब्धि हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत् आयात भएको थियो । सोही अवधिमा नेपालले १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो । आगामी केही वर्ष अझै हिउँदका केही महिना आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नुपरे तापनि अब निर्यातको परिमाण बढ्दै जाने घिसिङले बताए । कान्तिपुर दैनिकबाट