काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बहिष्कारका बिच बिश्वासको मत पाएका हुन् ।
संसदमा उपस्थित १५८ जना सांसदमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य मत परेको छ । तटस्थमा एक मत परेको सभामुख देवराज घिमिरेले सभाले जानकारी गराएका थिए । पटक विश्वासको मत लिन उनले विपक्षीको अवरोध झेल्नु पर्यो ।
प्रधानमन्त्री भएको १७ महिनामा प्रचण्डले चौथोपटक विश्वासको मत लिएका हुन् । समीकरण फेरिएको तीन महिना नपुग्दै सरकारमा सहभागी दल जसपा नेपाल विभाजन भएपछि प्रचण्डले फेरि विश्वासको मत लिनु परेको हो ।
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि विपक्षमा रहेको जनमत पार्टीले साथ दिँदा विश्वासको मत यथास्थितिमा राख्न प्रधानमन्त्री सफल भएका छन् । तर सत्ता गठबन्धनभित्र रहेका एकीकृत समाजवादीका प्रकाश ज्वाला, नाउपाका गंगाराम चौधरी र एमालेका वसन्त नेम्वाङ भने बैठकमा अनुपस्थित भए ।
तर । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध जारी राखेको बिच प्रधानमन्त्रीले पेलेरै विश्वासको मत लिएका हुन् । समाभुख घिमिरेले प्रधानमन्त्रीले पेस गरेको प्रस्तावको समर्थनमा एमालेका सांसद विष्णुप्रसाद पौडेललाई मात्र बोल्न दिएका थिए । विपक्षी कांग्रेस, राप्रपा, लोसपा, जसपा नेपाल लगायत दलहरू बहिस्कार गरे ।
यसअघि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिँदा १५७ मत पाएका थिए । त्यस यता सरकारबाट जसपा नेपाल बाहिरिए पनि प्रचण्डलाई विश्वासको मतमा भने खासै फरक परेन । जसपा बाहिरिए पनि जसपाबाट विभाजित भएर बनेको जसपा नेपाल र यसअघि विपक्षी गठबन्धनमा रहेको जनमत पार्टीले साथ दिँदा प्रचण्डको पक्षमा मत घट्न नपाएको हो ।



















































