संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा पत्नि हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । शनिबार मादी नगरपालिका-४ डाँडागाउँका ५६ वर्षीय अमरबहादुर सार्कीलाई पक्राउ गरेको हो। बिहान ५ः५० बजेतिर उनले आफ्नी पत्नी ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको प्रहरीको भनाइ छ । संखुवासभाको चैनपुर नगरपालिका-७ का उनी हाल मादीमा बस्दै आएका थिए। घरायसी विवाद हुँदा अमरले पत्नी फुलमायालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यापछि उनी आफैँ प्रहरी चौकी मङ्गलबारे, मादीमा उपस्थित भएका थिए। उनले घटनाबारे जानकारी गराएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनामा प्रयोग भएको खुकुरीसहित संलग्न अमरलाई नियन्त्रणमा लिएको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।



















































