मेचीनगर । सर्वसाधारणको उपस्थिति बिना नै मेचीनगर नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको भन्दै सहभागीहरुले नगरपालिकाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् । बिहीबार नगरपालिकाको बन्द सभाहलमा आयोजित सार्वजनिक सुनुवाइमा कर्मचारी र जनप्रतिनिधिको मात्रै सहभागीता रहेको भन्दै नगरको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका हुन् ।
सहभागीहरुले नगरमा शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माणदेखि सूचना प्रवाहका विषयमा नगरको नेतृत्व र सम्बन्धित शाखा प्रमुखको कार्यशैलीमाथि तीव्र आलोचना गर्दै सुधार गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागीहरुले नगरपालिकाले सार्वजनिक सुनुवाइको पर्याप्त सूचना नै नदिई कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा औपचारिकता पूरा गरेको आरोप लगाए । एक लाख ३२ हजारभन्दा बढी जनसंख्या भएको मेचीनगरमा सर्वसाधारण, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिको उल्लेख्य सहभागिता नहुनुले सार्वजनिक सुनुवाइको विश्वसनीयतामै प्रश्न गरेका थिए ।कार्यक्रममा नगर उपप्रमुखको अनुपस्थितिलाई समेत अर्थपूर्ण रूपमा हेरिएको थियो । सहभागी अधिकांश सञ्चारकर्मीहरुले जनप्रतिनिधि र कर्मचारीले स्थानीय सञ्चारमाध्यमलाई बेवास्ता गर्दै सूचना फेसबुकमा मात्र सीमित गर्ने प्रवृत्तिको तीब्र आलोचना गरेका थिए । कर्मचारीले फेसबुकमा सूचना पेस गर्दा कार्यालयको बिश्वासनियता नहुने र स्थानीय तह सञ्चालन नियमावलीले उक्त अनुमति प्रदान नगरेकाले समयमै सचेत रहन सुझाव दिएका थिए ।
सहभागीहरुले विकास निर्माणका क्रममा जनप्रतिनिधि-ठेकेदारसँग मिलेमतो, कमिसन र अनियमितता हुने तर नेतृत्व मौन रहने गरेको आरोप लगाएका थिए ।
कार्यक्रममा सहभागी स्थानीयले सार्वजनिक सुनुवाइ नै जनताका लागि नभई कर्मचारी र जनप्रतिनिधिका लागि मात्र आयोजना गरिएको जस्तो देखिएको आरोप लगाए । एक लाख ३२ हजारभन्दा बढी जनसंख्या रहेको मेचीनगरमा सर्वसाधारणको उपस्थिति लगभग शून्य रहनुले सार्वजनिक सुनुवाइको उद्देश्य नै कमजोर बनाएको उनीहरूको भनाइ थियो । कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी र वडा नं. ७ का अध्यक्ष प्रलादमणि ओलीले विगतका कमजोरी सुधार्दै समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए ।
सहभागीहरूले यसलाई पारदर्शिताभन्दा औपचारिकता पूरा गर्ने प्रयास भएको टिप्पणी गर्दै, कार्यक्रम सञ्चालनको नाममा सार्वजनिक स्रोतको दुरुपयोग भएको आशंका व्यक्त गरे ।
मेचीनगरले बजेट अनुसारको विकासमा प्रतिफल नदेखिएको, करोडौं रुपैयाँ खर्चेर सुरु गरिएका नगर अस्पताल, बहुआयामिक बहुभाषिक संग्रहालय, भ्यू- टावर र लेदोजन्य फोहोर व्यवस्थापन केन्द्र वर्षौंदेखि अधुरै रहँदा ती आयोजना अहिले खण्डहरजस्तै हुँदै आएका छन् ।कृषकहरूले चार वर्षदेखि सिँचाइका लागि आवश्यक पैनीको मुहान निर्माणमा बजेटसमेत विनियोजन नभएको भन्दै कृषि क्षेत्रप्रति वडा र नगरपालिकाको उदासीनता उजागर भएको गुनासो गरे ।उनीहरूले यस्ता गतिविधिले सुशासन र जवाफदेहितामाथि नै गम्भीर प्रश्न उठाएको बताएका छन्।



















































