इलाम । इलाम-२ मा प्रतिनिधिसभाका लागि शनिबार उपनिर्वाचन सम्पन्न भएको छ । मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्ति अनुसार इलाम-२ मा ५८ प्रतिशत मतदान भएको छ ।
उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाताले मतदान गरेका थिए । आयोगका अनुसार ४ मंसिर २०७९ मा इलाम-२ मा ५९ दशमलव ७८ प्रतिशत मतदान भएकोमा यो पटक ५८ प्रतिशत मतदान भएको हो ।
इलाममा इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११:०० बजेभित्र मतपेटिका संकलन हुने आयोगले आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।
त्यस्तै बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचन सम्पन्न भएको छ । बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए। बझाङ– १ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।
बझाङको मतपेटिका हवाइ मार्गबाट ढुवानी गर्नुपर्ने भएकाले आइतबार विहान १० बजेभित्र ढुवानी भइसक्ने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।



















































