विराटनगर । घरबाट बाख्रा चोरी गरेर आफ्नै घरमा लुकाई राखेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ३६ वर्षीय प्रकाश राजवंशी र २४ वर्षीय श्याम राजवंशी छन्। उनीहरूले फरक–फरक मितिमा दुई घरबाट चारवटा बाख्रा चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उनीहरूले कात्तिक ११ गते राति विराटनगर–४ स्थित एक घरबाट एउटा खसी र एउटा बाख्रा चोरी गरेका थिए। त्यसको तीन दिनपछि कात्तिक १४ गते राति विराटनगर–३ कै अर्को घरबाट एउटा खसी र एउटा बाख्राको पाठा चोरेको आरोप छ।

चोरी गरिएका बाख्रा घरमै लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले कात्तिक १४ गते बिहान दुवै जनाको घरमा खानतलासी गरेको थियो। त्यसक्रममा दुईवटा खसी, एउटा माउ बाख्रा र एउटा पाठा फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको डीएसपी मिश्रले बताए।

पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।