खानपान र जीवनशैली सुधार गर्दा सामान्य ग्यास्ट्रिकमा राहत, गम्भीर अवस्थामा चिकित्सकीय उपचार आवश्यक ग्यास्ट्रिकका सबै समस्यामा औषधि खानैपर्छ भन्ने छैन। कतिपय अवस्थामा खानपान, जीवनशैली र दैनिक व्यवहारमा सुधार गरेर पनि ग्यास्ट्रिक नियन्त्रण गर्न सकिन्छ। तर ग्यास्ट्रिक एउटै रोग नभई पेट फुल्ने, अपच हुने, अम्लपित्त, छाती पोल्ने तथा पेट दुख्नेजस्ता विभिन्न समस्यालाई जनाउन प्रयोग गरिने शब्द हो।ग्यास्ट्रिकको समस्या सामान्य, बारम्बार दोहोरिने र गम्भीर गरी तीन अवस्थाबाट बुझ्न सकिन्छ।
सामान्य अवस्थामा औषधिबिना राहत:
धेरै खाना खाएपछि पेट भारी हुने, डकार आउने, पेट फुल्ने वा कहिलेकाहीँ छाती पोल्ने समस्या भएमा खानपान र जीवनशैली सुधारले राहत दिन सक्छ। यस्तो अवस्थामा अनावश्यक रूपमा औषधि सेवन गर्नुभन्दा पहिले आफ्नो दैनिक बानी सुधार गर्नु उपयोगी हुन्छ।
एकैपटक धेरै खाना नखाने, नियमित समयमा खाने, खाना राम्ररी चपाएर खाने र खाना खाएलगत्तै नसुत्ने बानीले पाचन प्रक्रियालाई सहज बनाउन मद्दत गर्छ।
बारम्बार ग्यास्ट्रिक भए के गर्ने ?
हप्तामा पटकपटक छाती पोल्ने, पेट दुख्ने, अमिलो पानी मुखमा आउने वा खाना खान असहज हुने समस्या भएमा त्यसको कारण पहिचान गर्नु आवश्यक हुन्छ। यस्तो अवस्थामा खानपान र जीवनशैली सुधारले केही राहत दिन सक्छ। तर बारम्बार दोहोरिने समस्यालाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन। आवश्यकताअनुसार चिकित्सकको परामर्श र औषधि सेवन गर्नुपर्ने हुन सक्छ।
गम्भीर अवस्थामा औषधि आवश्यक:
पेटमा अल्सर, हेलिकोब्याक्टर पाइलोरी (H. pylori) संक्रमण वा अन्ननलीमा क्षति भएको अवस्थामा जीवनशैली सुधारले मात्रै पर्याप्त हुँदैन। यस्ता समस्यामा चिकित्सकीय परीक्षण र औषधिसहितको उपचार आवश्यक हुन्छ। विशेषगरी कालो दिसा, रगत बान्ता, खाना निल्न कठिनाइ, अनायास तौल घट्नु वा लगातार पेट दुख्नुजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्छ।
आयुर्वेदले के भन्छ ?
आयुर्वेदमा अग्नि, अजीर्ण, अध्यशन र विषमाशनको अवधारणाले पाचन शक्ति तथा खानपानको नियमिततालाई महत्त्व दिएको छ। नियमित समयमा खाना खाने, अघिल्लो खाना नपच्दै बारम्बार नखाने, आफूलाई समस्या बढाउने खानेकुरा कम गर्ने र खाना खाएपछि तुरुन्त नसुत्ने बानीलाई स्वस्थ पाचनका लागि उपयोगी मानिन्छ।
औषधिबिना ग्यास्ट्रिक नियन्त्रणका उपायहरु:
-एकैपटक धेरै खाना नखाने।
-नियमित समयमा खाना खाने।
-खाना राम्ररी चपाएर खाने।
-चिल्लो, पिरो र आफूलाई समस्या बढाउने खानेकुरा घटाउने।
-खाना खाएपछि कम्तीमा दुईदेखि तीन घण्टासम्म नसुत्ने।
-राति ढिलो खाना खाने बानी त्याग्ने।
-धूमपान र मदिराबाट टाढा रहने।
-पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिने।
डा. सुस्मा साउथ-आयुर्वेद फिजिसियन





