एजेन्सी । स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । बिहान म्याड्रिडबाट सेभिया गइरहेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएको बिबिसीले जनाएको छ।यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबीपछि मानवीय त्रुटि हुँदा दुर्घटना भएको हो। यो दुर्घटना आधुनिक युरोपेली इतिहासकै सबैभन्दा गम्भीर रेल दुर्घटनामध्ये एक हो। साथै, १३ वर्षयता स्पेनमा भएको सबैभन्दा घातक रेल दुर्घटना पनि हो । दुर्घटनाबाट बाँचेकाहरूले यात्रुहरू हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको हृदयविदारक दृश्य सुनाएका छन्।
बुधबार बिहान ९ बजेपछि म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाबीच दुर्घटना भएको थियो। यातायातमन्त्री पुएन्तेका अनुसार निजी रेल सञ्चालक कम्पनी इरियोले सञ्चालन गरेको रोकिएको रेलमा १४७ यात्रु सवार थिए। कम्प्युटर प्रणालीमा समस्या आएपछि उक्त रेल ट्र्याकमै रोकिएको थियो।





