झापा । श्रम तथा रोजगार कार्यालय विराटनगरले इटहरी उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका म्यानपावर कम्पनीका शाखाहरूमा गरेको अनुगमनका क्रममा व्यापक अनियमितता र शंकास्पद गतिविधि फेला पारेको छ । इटहरी क्षेत्रमा इजाजत प्राप्त म्यानपावर कम्पनीका १६ वटा शाखा मात्र भए पनि ६० भन्दा बढी कम्पनीका शाखा भन्दै साइनबोर्ड राखेर कार्यालय सञ्चालन भइरहेको पाइएको हो ।
कार्यालयका इन्जिनियर दुर्गा आचार्यका अनुसार केही म्यानपावर शाखाले अख्तियारी नाघेर कारोबार गर्ने, तोकिएभन्दा बढी रकम असुल्ने तथा सेवाग्राहीको राहदानी लामो समयसम्म कार्यालयमै राखेर हैरानी दिने गरेको गुनासो आएपछि अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा केही कम्पनीमा शंकास्पद कागजात फेला परेपछि कार्यालयले ती कागजात नियन्त्रणमा लिएको छ । सम्बन्धित म्यानपावर कम्पनीका शाखा प्रमुखलाई तीन दिनभित्र आवश्यक कागजातसहित श्रम तथा रोजगार कार्यालयमा उपस्थित भएर बयान दिन पत्राचार गरिएको आचार्यले बताए ।
प्राप्त कागजात र शाखा प्रमुखको बयानका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ । साइनबोर्डका आधारमा अवैध रूपमा सञ्चालन भइरहेका केही कार्यालयमा अनुगमन टोली पुग्नुअघि नै ताला लगाएर सञ्चालक भागेको पाइएको छ । अनुगमनको सूचना चुहिएका कारण धेरैजसो कार्यालय बन्द गरेर सञ्चालक फरार भएको हुन सक्ने कार्यालयको आकलन छ ।
इटहरीका धरान लाइन, गोरखा गल्ली, लन्डन होटल र टेंग्रा पुलपारि म्यानपावर कम्पनीका वैध तथा अवैध कार्यालयहरू सञ्चालनमा रहेको बताइएको छ । निरीक्षणका क्रममा कतिपय सञ्चालकले घरभाडासमेत नदिएर दुःख दिएको गुनासो घरधनीहरूले गरेका छन् । उनीहरूले अवैधानिक रूपमा शाखा सञ्चालन हुन नदिन स्थानीय प्रहरीले कडाइ गर्नुपर्ने मागसमेत गरेका छन् ।





