कविता

`अग्रगमनको नारा´


Screenshot_20261027_215142_VN - Video Editorप्रकाशचन्द्र खतिवडा

एउटा साथी छ,
पत्रिकाको सम्पादक।
‘व्यस्त छु’ भन्छ,
फोन उठाउन मान्दैन,
पूर्वाग्रह साँध्छ
र छाप्दैन मेरो कथा–कविता।

सायद ऊ लेख्दैन,
लेखकको मर्म बुझ्दैन।
अनुभूति गुमाएर
भावविहीन बाँच्दो हो ऊ,
संवेदना व्यक्त नगर्ला,
आफ्नै जिजीविषा कुल्चँदो हो ऊ।

आफ्नो मृत्यु बिर्सिएर
अरूको मृत्युमा रमाउँदो हो ऊ।
दम्भ र घमण्ड देखाउँदै
स्वार्थमा बल्दो हो ऊ।
अहङ्कारको लिस्नो चढी
आफ्नै घरको छानो भत्काउँदो हो ऊ।

कृपया शान्त बन,
जीवन सृष्टिको सुन्दर फूल हो।
मरिजाँदा लानु के नै छ र?
सद्भाव देखाऊ भनेकै हो,
अर्ती ग्रहण नगरेरै
‘मेरो गोरुको बाह्रै टक्का’ भनी बस्छ ऊ।

म उसको अनुहार पढ्छु,
पटक्कै व्यावहारिक देखिँदैन ऊ।
निरङ्कुश शैली देखाउँछ
र हुकुम गर्छ—
‘कथा–कविता नपठाउनू।
कथा–कविता छाप्ने म ठेकेदार हुँ र?’

उसको र मेरो
संवाद टुटेको छ।
ऊ स्वर्गीय वैभवमा होला,
म जीवनको रोटी बेलिरहेको छु।
उसको सपना फक्रिएको होला,
म आफ्नो सपना खोजिरहेको छु।

ऊ वाक्–स्वतन्त्रताको चर्को बहस गर्छ
र कवि–कलाकारको गला निमोठ्छ।
लाग्दैन, ऊ सिद्धान्तनिष्ठ छ।
उसको रवैया प्रतिगामी
नहोला भन्न सकिँदैन।
सायद ऊ प्रतिगमनको झन्डा ओढ्छ,
म अग्रगमनको नारा उचाल्छु।

सुन्दरहरैँचा–६, दुलारी, मोरङ
सम्पर्क: ९८४२०७३५२५

Email:[email protected]