झापा । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिङ्क्सको सेवनमा सावधानी अपनाउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी महिला र विभिन्न रोगबाट पीडित व्यक्तिलाई यस्ता पेय पदार्थबाट टाढै रहन सुझाव दिएको छ ।
विभागले विशेषगरी मधुमेहका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको हो । सेवन गर्न मिल्ने स्वस्थ व्यक्तिले समेत दैनिक दुई क्यानभन्दा बढी नपिउन विभागको सुझाव छ ।
विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन् । उत्पादनको लेबल र प्रयोगशाला परीक्षण प्रतिवेदनका आधारमा नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ ।
अन्तर्राष्ट्रिय खाद्य सुरक्षा निकायहरूले स्वस्थ वयस्कका लागि सबै स्रोतबाट प्राप्त हुने क्याफिनको दैनिक मात्रा ४०० मिलिग्रामसम्मलाई सामान्यतया सुरक्षित सीमाभित्र मानेका छन् । विभागले नेपाली बजारमा उत्पादित इनर्जी ड्रिङ्क्समा प्रयोग हुने क्याफिनको मात्रा उक्त सीमाको २५ प्रतिशतभन्दा कम रहेको जनाएको छ । यद्यपि, क्याफिनको मात्रा कम हुँदैमा सबैका लागि यसको सेवन सुरक्षित हुन्छ भन्ने अर्थ नलाग्ने भएकाले व्यक्तिगत स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्ने विभागको आग्रह छ ।
इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध वा मोहीजस्ता पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न पनि विभागले सचेत गराएको छ । त्यस्तै, अन्य पेय पदार्थमा मिसाएर इनर्जी ड्रिङ्क्स सेवन गर्ने अभ्यास नगर्न उपभोक्तालाई सुझाव दिइएको छ ।
विभागले उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्रै विज्ञापन तथा प्रचारप्रसार गर्न र उत्पादनको लेबलमा उल्लेख गर्नुपर्ने चेतावनी तथा सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा राख्न निर्देशनात्मक आग्रह गरेको छ ।
खाद्य स्वच्छता र गुणस्तर कायम गर्ने उद्देश्यले वैज्ञानिक तथ्य तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा उपभोक्तालाई सही जानकारी उपलब्ध गराउन विभागले सरोकारवालालाई अनुरोध गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।





