झापा । दशैं अवधिमा झापामा ८४ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १३९ जना घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा, जिल्ला  ट्राफिक तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा झापामा उक्त दुर्घटना भएका हुन् । दुर्घटनामा घाइते भएकामध्ये कति जना गम्भीर र कति सामान्य घाइते भए भन्ने जिल्लागत विवरण भने सार्वजनिक गरिएको छैन ।

यस वर्षको दशैं अवधिमा कोशी प्रदेशभर ४१३ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने ३६ जना गम्भीर र ७१० जना सामान्य घाइते भएका छन् ।

प्रदेशका १४ जिल्लामध्ये मोरङमा सबैभन्दा धेरै १७० वटा दुर्घटना भएका छन् । मोरङमा चार जनाको मृत्यु र २९१ जना घाइते भएका छन् । सुनसरीमा ८७ वटा दुर्घटना हुँदा १० जनाको मृत्यु र १५६ जना घाइते भएका छन् । त्यस्तै, उदयपुरमा ३३ वटा दुर्घटनामा चार जनाको मृत्यु र ८९ जना घाइते भएका छन् ।

दशैं अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि प्रहरीले कारबाहीसमेत गरेको छ । कोशी प्रदेशभर नियम उल्लंघन गर्ने दुई हजार ४५७ वटा सवारीसाधनलाई कारबाही गरी २५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।