झापा । सुरक्षा कमजोरी फेला परेसँगै गएको बिहीबारदेखि बन्द भएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू सञ्चालन हुन थालेका छन् । विश्वभर वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामक प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी फेला परेपछि वेबसाइट र अनलाइन सेवा बन्द गरिएको थियो ।
नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ प्रणाली (भीटीएस) लगायतका प्रमुख सरकारी र वित्तीय निकायका वेबसाइटहरू चार दिनसम्म बन्द भएका थिए ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच र परीक्षण सम्पन्न भएपछि धेरै सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सामान्य रूपमा सञ्चालनमा आएको छ । बाँकी सेवाहरू पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भैरहेको केन्द्रले जनाएको छ । पीएचपी मुख्यतया वेबसाइट र वेब एप्लिकेसनहरू निर्माण गर्न प्रयोग गरिने एक प्रोग्रामिङ भाषा हो । यही प्रणालीमा समस्या आएको र यसको अपग्रेडका लागि सूचना जारी भएकाले सरकारी तथा सार्वजनिक निकायका वेबसाइटहरु बन्द भएका थिए ।





