झापा । झापाको मेचीनगर नगरपालिका–१, सालमारा क्षेत्रमा लागूऔषधसहितका व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। घटनामा खैरो हेरोइनजस्तो देखिने १५० ग्रामभन्दा बढी पदार्थसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मेचीनगर–१, सालमारा निवासी ३६ वर्षीय नसीम अख्तर मियाँ र ३० वर्षीय सलमान मियाँ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट प्लास्टिकबाहेक १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। लागूऔषध र मोटरसाइकलसमेत नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।