झापा । तिहार नजिकिँदै गर्दा झापाका फूल कृषक व्यावसायीले भारतीय फूलको आयात रोक्न माग गर्दै प्रशासनसमक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् । स्वदेशी उत्पादनको संरक्षण, स्थानीय बजारको सुनिश्चितता र कृषकको लगानी सुरक्षाको माग गर्दै फूल कृषक तथा व्यवसायीले मंगलबार जिल्ला प्रशासन कार्यालय झापामा सातबुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
फूल कृषक तथा व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ध्यानाकर्षणपत्र बुझाएको फुल कृषक शुष्मा पौडेलले जानकारी दिइन् । झापामा ब्यवसायिक रुपमा फुल उत्पादक २० भन्दा बढी कृषक तथा व्यवसायी सामुहिक रूपमा ध्यानाकर्षण गरेका हुन् ।
कृषकका अनुसार झापामा करिब १० बिघा क्षेत्रफलमा व्यावसायिक फूल खेती हुँदै आएको छ । तिहारमा फूलको माग उच्च हुने भए पनि भारतीय फूलको आयातका कारण स्थानीय उत्पादनले उचित मूल्य र बजार पाउन नसकेको उनीहरूको गुनासो छ। स्वदेशी उत्पादनले बजार नपाउँदा कृषकको लगानी जोखिममा पर्ने भएकाले नेपाली उत्पादनले माग धान्न सक्ने अवस्थामा भारतीय फूलको आयात रोक्न नीतिगत पहल गर्न उनीहरूले माग गरेका छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार ९ लाख ९८ हजार ५४ जनसङ्ख्या रहेको झापामा तिहारका बेला फूलको माग उल्लेख्य हुने गरेको छ। तर, विगतका वर्षमा स्थानीय कृषकले उत्पादन गरेको फूलले उचित बजार नपाउँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको उनीहरूको भनाइ छ।
लाखौँ रुपैयाँ लगानी गरेर गरिने फूल खेतीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै फूल टिप्ने, माला बनाउने, प्याकेजिङ, ढुवानी तथा बिक्रीवितरणजस्ता काममा समेत रोजगारी उपलब्ध गराउँदै आएको कृषकको दाबी छ। तर, माग बढी हुने समयमा समेत नेपाली फूलले बजार नपाउँदा लगानी डुब्ने अवस्था आउने गरेको उनीहरूले बताएका छन्।
यस्ता छन् कृषकका सातबुँदे माग:
कृषक तथा व्यवसायीले झापामा उत्पादित स्वदेशी फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिनुपर्ने, स्वदेशी उत्पादनले माग धान्न सक्ने अवस्थामा भारतीय फूलको आयात रोक्न नीतिगत पहल गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै, सीमा तथा भन्सारमा प्रभावकारी अनुगमन गरी अनधिकृत आयात र अवैध ओसारपसार नियन्त्रण गर्नुपर्ने, स्थानीय उत्पादनको न्यायोचित मूल्य र सहज बजार सुनिश्चित गर्नुपर्ने तथा सरकारी कार्यालय, विद्यालय, होटल, सङ्घसंस्था र आम उपभोक्तालाई स्वदेशी फूल प्रयोग गर्न प्रोत्साहित गर्नुपर्ने उनीहरूको माग छ।
यसैगरी, झापाको फूल उत्पादन, माग, खेतीको क्षेत्रफल र आयातसम्बन्धी वास्तविक तथ्याङ्क सङ्कलन गरी दीर्घकालीन योजना बनाउनुपर्ने तथा फूल खेतीको संरक्षण, कृषकको लगानी सुरक्षा र उत्पादन विस्तारका लागि आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने मागसमेत ध्यानाकर्षणपत्रमा उल्लेख छ।
‘नेपाली कृषकले उत्पादन गरेको फूल खेतमै नष्ट हुने तर बाहिरबाट आउने फूलले बजार पाउने अवस्थाको अन्त्य हुनुपर्छ,’ कृषकहरूको भनाइ छ। झापालाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र नेपाली पुँजीलाई स्वदेशमै परिचालन गर्ने उद्देश्यले आफूहरूले आवाज उठाएको उनीहरूले बताएका छन्।
कृषकहरूले फूल खरिदकर्ता तथा उपभोक्तालाई पनि स्वदेशी उत्पादनलाई सम्मान गर्दै नेपाली फूललाई प्राथमिकता दिन आग्रह गरेका छन्। स्थानीय उत्पादनको प्रयोगले कृषकको लगानी सुरक्षित हुनुका साथै स्वदेशी उत्पादन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनीहरूको भनाइ छ।
ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा झापा क्षेत्र नं. ३ का सांसद प्रकाश पाठक, क्षेत्र नं. ४ का सांसद शम्भु ढकाल ‘सुस्केरा’ तथा झापा जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्कालगायतको उपस्थिति रहेको जनाएको छ ।





