बिराटनगर । चोरीको आरोपमा बदनाम गराएको आवेगमा विराटनगरका हार्डवेयर व्यवसायी अफरोज आलमले ६९ वर्षीय व्यापारी लालजीप्रसाद गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनामा हत्या योजनाकार भनिएका आलमसहित दुई बालक पनि पक्राउ परेका छन् । भारतको बनारस स्थायी घर भई झण्डै ४० वर्षदेखि विराटनगरको महावीर रोडमा ‘लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका गुप्तालाई आलमले दसैँको उपलक्ष्यमा गत शुक्रबार साँझ आफ्नै घरमा खाना खान बोलाएको प्रहरीको भनाइ छ । पानी तान्ने मोटरको तार चोरी गरेको भन्दै गुप्ताले बजारमा आफ्नो बदनाम गराएको आलमको आरोप थियो । प्रहरीका अनुसार घरमा बोलाएपछि मादक पदार्थ सेवन गराएर बोतल र रड प्रहार गरी गुप्ताको हत्या गरिएको तथ्य खुलेको छ  । त्यसपछि दुई बालकको सहयोगमा शव बोरामा राखेर सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसलिया खोलाको किनारमा फालियो ।शुक्रबार दिउँसो पसलबाट निस्किएपछि सम्पर्कविहीन भएका गुप्ताको आइतबार बिहान फेला परेको थियो । मोरङ र सुनसरी प्रहरीको संयुक्त टोलीले हिजो साँझ आलमसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेका १३ र १६ वर्षका बालकमध्ये एक भारतीय र अर्का नेपाली हुन् ।