काठमाडौं । नेपाल आएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) र सशस्त्र प्रहरी बल नेपालबीच सीमा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियमनलगायतका विषयमा छलफल भएको छ । राजधानीमा आजदेखि आयोजित १०औँ द्विपक्षीय समन्वय बैठकमा बैठकमा खुला सीमाको प्रभावकारी व्यवस्थापन, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, दशगजाको अतिक्रमण हटाउने तथा सीमा स्तम्भको संरक्षण र मर्मतसम्भारलगायतका विषयलाई प्राथमिकता दिइएको बताइन्छ । छलफलमा नेपाल–भारत खुला सीमाको प्रयोग गरी तेस्रो मुलुकका नागरिकले गर्न सक्ने अवैध आवागमनलाई नियमन गर्ने विषयमा पनि विस्तृत कुराकानी हुँदैछ । बैठकमा भाग लिन एसएसबी महानिर्देशक सञ्जय सिंगलको नेतृत्वमा छ सदस्यीय टोली हिजो नेपाल आएको हो । सशस्त्र प्रहरी बल नेपालले आयोजना गरेको ‘नेपाल–इण्डिया कोर्डिनेशन मिटिङ’ को दशौं बैठकमा सहभागी हुन आएको टोलीलाई सशस्त्र प्रहरीका एआईजी गणेश ठाडामगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । टोली एअर इण्डियाको उडान नम्बर एआई २१७ मा हिजो दिउँसो २ बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुगेको हो ।
टोलीको सम्मानमा हिजो सशस्त्र प्रहरी बलको मुख्यालय, हलचोकमा रात्रिभोजको आयोजना गरिएको थियो । होटल सोल्टीमा बसेको टोली आज बिहान पशुपतिनाथ दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेको थियो । त्यसपछि सशस्त्र मुख्यालयमा आयोजित बैठकमा सहभागी भएका उनीहरु होटल पुगेर दिउँसो ठमेल घुमेका हुन् । भोलि बिहान ९ बजे गृह मन्त्रालयमा भेटघाटपछि टोली वसन्तपुर दरबार स्क्वायर अवलोकनमा जाने कार्यक्रम छ ।त्यहाँबाट चन्द्रागिरी पुगेर होटल फर्किनेछन् । दिउँसो ३ बजे पाटन दरबार स्क्यावर भ्रमण गरेपछि शुक्रबार बिहान होटलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकनमा जाने कार्यक्रम छ ।
बिहान पौने ११ बजे सशस्त्र मुख्यालयमा आयोजना हुने बैठकको समापन समारोहमा सहभागी भएपछि दिउँसो साढे २ बजे आवासीय कार्यक्रममा नगरकोट जाने बुझिएको छ । शनिबार नगरकोटबाट भक्तपुर दरबार स्क्वायर भ्रमण गर्दै दिउँसो काठमाडौं आएपछि टोली नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । द्विपक्षीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन्। नेपाली टोलीमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधि सहभागी छन्।





