झापा । अनलाइनबाट सस्तोमा सामान खरिद गर्ने प्रलोभन, नक्कली सामाजिक सञ्जाल खाता, क्यूआर कोड र बैंक खाताको दुरुपयोग गर्दै ठगी गर्ने घटनामा वृद्धि हुन थालेपछि झापामा सर्वसाधारणको आर्थिक सुरक्षामाथि चुनौती थपिएको छ। अनलाइन कारोबार गर्दा सामान्य सावधानीसमेत नअपनाउँदा सर्वसाधारणले मेहनत गरेर कमाएको रकम गुमाउनुपरेको छ।
एउटा इलाका प्रहरी कार्यालयमा अनलाइन तथा विद्युतीय माध्यमबाट ठगिएको भन्दै दैनिक एकदेखि सात वटासम्म निवेदन पर्ने गरेको बताइएको छ। झापाको बुधबारे क्षेत्रबाट पनि यस्ता ठगीका घटना धेरै देखिएको जनाइएको छ। ठगीमा परेका व्यक्तिको रकम फिर्ता गराउने तथा घटनाको अनुसन्धान गर्ने काममा प्रहरी व्यस्त हुदा अर्को चुनौतिका समाना गर्नुपरेको छ।
विभिन्न बहानामा ठगिएको भन्दै ५ हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रकम संलग्न भएका निवेदन आउने गरेको प्रहरीले जनाएको छ । अनलाइन किनमेलदेखि बैंक खातामा अनधिकृत कारोबारसम्मका घटनाले विद्युतीय माध्यमबाट हुने ठगीको जोखिम बढिरहेको पाइएको छ।
२०८३ साल असोज ३० गते त्यस्तै घटना भएको छ । टिकटकको विज्ञापन देखेर १२ सयको ज्याकेट किन्न खोज्दा ४३ हजार २९९ रुपैयाँ गायब भएपछि एकजना पीडित महिलाले बैंक र प्रहरीसमक्ष गुहार मागेकी छन् ।
झापा मेचीनगर नगरपालिका–१४ की हेमकुमारी शिवाकोटी अनलाइन ठगीमा परेकी हुन् । उनका छोराले सामाजिक सञ्जालमा सस्तो मूल्यमा ज्याकेट  पाइने देखेपछि खरिद गर्न खोज्दा आफ्नो बैंक खाताबाट ४३ हजार २९९ रुपैयाँ गुमाएको भन्दै सम्बन्धित बैंक र इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिएकी छन्।
निवेदनमा उल्लेख भएअनुसार २०८३ असोज ३० गते बिहान करिब १० बजे ‘सोनी कलेक्सन’ नामको टिकटकमा सस्तो मूल्यमा आकर्षक ज्याकेट राखिएको देखेपछि उनका छोराले आमा हेमकुमारीलाई ज्याकेट मनपर्यो भनेपछि दशैंका सपिड गर्न नमानेका छोराको आग्रहलाई स्वीकार्दै साइज हेरेर अडर गर्न भनेपछि १५ वर्षिय छोराले टिकटकमा दिइएको ह्वाट्सएप नम्बरमा कुराकानी गर्छन् ।
कुराकानीका क्रममा सामान पठाउनुअघि डेलिभरी चार्ज १८० रुपैयाँ पठाउनुपर्ने नियम रहेको विक्रेता सोनी कलेक्सनले भनेपछि उनले आमाको एकाउण्टबाट क्यूआर कोडमार्फत रकम भुक्तानी १८० रुपैयाँ भूक्तानी गरिदिन्छन् । त्यसपछि कलेक्सनले फोन गर्दै भन्छ तपाइले पठाएको डेलिभरी चार्जको रकम बैंकमै होल्ड भएको छ । कि फेरी पठाउनु परो, कि म एउटा कोड नम्बर पठाउँछु त्यो कोड नम्बर हाल्नुपरो ।
पैसा पठाउँदा फेरि समस्या हुने डरले कोड नम्बर प्रयोग गर्ने भन्दै नम्बर माग गर्छन् । उक्त कोड नम्बर प्रयोग गरेपछि शिबाकोटीको ग्लोबल आइएमई बैंक चारआली शाखाको खातामा रहेको सबै रकम ४३ हजार २९९ रुपैयाँ स्क्याम्पमार्फत लुटिएको थियो ।
शुक्रबार दशैंका लागि बैंक विदा हुने दिन थियो । हेमकुमारीले खाताबाट सबै पैसा स्क्याम्प भएको थाहा पाएसँगै उनका श्रीमान्लाई कुरा शेयर गर्छिन् । उनले तत्काल चारआलीस्थित ग्लोबल आईएमई बैंकमा पुगेर आफ्नो खाताबाट कुन खातामा रकम पुगेको हो फिर्ता गरी पाउँ भनी निवेदन हाल्छिन् । बैंकको निवेदन र कारोबार विवरणपत्र लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा पुग्छिन् । आफ्नो खाताबाट महालक्ष्मी विकास बैंकको सुजिताकुमारी मुखियाको खातामा रकम गएको विवरणसमेत उल्लेख गरिएकाले रकम फिर्ता गरिदिन र उक्त खाता बन्द गर्न भन्दै निवेदन गरेकी थिइन् । 
प्रहरीका अनुसार महालक्ष्मी विकास बैंकमा खाता रहेकी सुजिताकुमारी मुखियाले आफ्नो क्लास फेण्डले कहीबाट रकम आउने भन्दै क्युआर मागपछि आफुले क्युआरमात्रै दिएको प्रमाणित गर्न खोजेकी छन् । उनका साथीले आफ्नो क्युआर दुरुपयोग गरेको प्रहरीसमक्ष भन्दै आएको समेत जनाइएको छ । साथीले क्युआर माग गरेपछि मैले दिएको हुँ उनले आवश्यक परे साथीको विरुद्धमा उजुरी हाल्ने बताउदै आएको समेत प्रहरीको भनाई छ ।
त्यसै इलाका प्रहरी कार्यालयमा अन्य दुई वटा स्क्याक्म्पको ठगीमा परेको भन्दै निवेदन परेको जनाएको छ । सयौं सर्वसाधारण अनलाइन ठगीमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्वसाधारणले अनलाइनबाट सामान किन्नुअघि विक्रेताको पहिचान, ठेगाना, सम्पर्क नम्बर र पुराना कारोबारबारे नझ्नु, अस्वाभाविक रूपमा प्रलोभनमा परेर सस्तो मूल्य भन्दै विश्वास गर्नु,अपरिचित व्यक्तिले पठाएको लिंक तथा क्यूआर कोड प्रयोग गर्नुअघि त्यसको विश्वसनीयता ध्यान नजानु, बैंकको ओटीपी, पासवर्ड, पिन तथा गोप्य विवरण अपरिचित व्यक्तिले भनेअनुसार पठाउनु, सामान किन्नका लागि भन्दै अनावश्यक एप डाउनलोड गर्दा ठगिने गरेका हुन् ।
त्यसरी रकम गुमेमा ढिला नगरी बैंक र नजिकैको प्रहरीलाई जानकारी दिन प्रशासनले अनुरोध गरेको छ । स्क्याम्प गरेर रकम लाने र केहीछिन पछि फिर्ता पठाइदिने धेरै स्क्यामरले भन्ने गरेकाले त्यस्ताको विश्वास र प्रलोभनमा नपर्न आग्रह गरिएको छ ।