झापा । चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलता हेरी मेला, महोत्सव तथा धार्मिक-सांस्कृतिक स्थलमा ड्रोनबाट निगरानी गर्ने जनाएको हो ।
योजनाअनुसार जिल्लाभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी दुई हजार १२७ सुरक्षाकर्मी परिचालन गरिनेछ । नेपाल प्रहरीतर्फ एक हजार १९२ र सशस्त्र प्रहरीतर्फ ९३५ सुरक्षाकर्मी खटाइने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
“चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन एकीकृत सुरक्षा योजना बनाइएको उनको भनाई छ ।
सुरक्षा योजनाअन्तर्गत जिल्लाका ६२ संवेदनशील स्थानमा ‘पिकेट’ स्थापना गरिनेछ । त्यस्तै, ३५ टोलीबाट मोबाइल गस्ती र ३१ टोलीबाट पैदल गस्ती गरिनेछ भने सम्भावित घटनामा तत्काल परिचालन हुन सातवटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) तयारी अवस्थामा राखिनेछ ।
चोरी, लुटपाट, पकेटमारी, जुवातास तथा सट्टेबाजी, मादक पदार्थ सेवनबाट हुने झैँझगडा र सवारी दुर्घटनालाई मुख्य सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको छ । यस्ता गतिविधि नियन्त्रण गर्न नियमित तथा आकस्मिक चेकिङ, संयुक्त जाँच र रात्रिकालीन गस्तीलाई तीव्रता दिइनेछ ।



