बिर्तामोड। झापाको बिर्तामोडको यातायात व्यवस्था कार्यालय सार्ने भन्दै भु-माफियाको चलखेल बढेको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् ।

विभिन्न बहाना देखाउँदै यातायात कार्यालय सार्न लागेको थाहा पाएपछि स्थानीयको उजुरी अख्तियारमा परेको हो ।  

स्थानीय बद्री खड्काले २०६९ सालमा नि:शुल्क उपलब्ध गराएको २ कठ्ठा जग्गामा बनेको यातायात ब्यवस्था कार्यालय साघुँरो र ब्यवस्थापन गर्न समस्या भएको भन्दै त्योभन्दा बढी जमिन उपलब्ध हुने भन्दै गरामनीमा सार्न लागेको श्रोतको भनाई छ ।

कोशीका तत्कालिन मुख्यमन्त्री केदार कार्की, आन्तरिक मामिला मन्त्री शमशेर राई र आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललगायतले तत्कालिन कार्यालय प्रमुख पदम कट्टेललाई कार्यालय सार्नका लागि कागजात मिलाउन दबाब दिएका थिए । दबाबकै कारण कार्यालय प्रमुख कट्टेलले राजीनामा दिनुपरेको  उजुरीमा उल्लेख छ ।

कमशल मूल्यको जग्गालाई करोडौँको बनाएर नीतिगत भ्रष्टाचार गर्न खोजेको भन्दै निवेदकले तत्कालिन मुख्यमन्त्री केदार कार्की, आन्तरिक मामिला मन्त्री शमशेर राई र आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल, यातायात व्यवस्था कार्यालय झापाका निमित्त कार्यालय प्रमुख बाबुराम शर्मा लुईँटेललगायतलाई कारबाहीको माग गरेका छन् ।

भुमाफियाहरुले बिर्तामोड-७ मा केहि कठ्ठा जग्गा नि:शुल्क उपलब्ध गराएर बाँकी जग्गा महंगो मुल्यमा बिक्री गर्नका लागि चलखेल गरी कार्यालय सार्न माथिसम्म लबिङ गरेर पहल गरिएको स्रोतको दाबी छ । जग्गा प्राप्ति समितिको संयोजक बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले राम्रोसँग अध्ययन गरेर मात्र अगाडी बढ्ने बताइन् ।