रौतहट । रौतहटमा दिउँसै लुटेराले गोली चलाउँदा एक जना घाइते भएका छन् । सीमासँग जोडिएको परोहा नगरपालिका-९ खापचोकस्थित आईएमई मनिट्रान्सफर शाखा कार्यालयमा लुटपाट भएको हो । शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् । सो क्रममा बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका छन् । गोली साहको कान छेडेपछि उनी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी इलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एलिजा गिरीका अनुसार साहमाथि गोली प्रहार गर्ने भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई पक्राउ गरिएको छ । भारतीय नम्बरको मोटरसाइकलमा आएका ३ जनालाई गोली प्रहार गरेर भाग्नै लाग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए ।



