झापा । बाल्यकालमा पढ्ने रहर थियो, तर गरिबीले त्यो रहर पूरा हुन दिएन । हातमा किताब बोकेर विद्यालय जानुपर्ने उमेरमा परिवारको गुजारा चलाउन मजदुरी गर्नुपर्ने बाध्यता आइपर्‍यो। मेचीनगर–१० स्थित महानन्द प्राथमिक विद्यालयमा कक्षा चारसम्म पढेका मेचीनगर–१४ प्रगति टोलका विवेक खवासको जीवन यसरी नै अभावसँगको संघर्षबाट सुरु भएको थियो। कक्षा चारपछि पढाइलाई निरन्तरता दिन नसकेका २५ वर्षीय विवेकले सानै उमेरदेखि काम गर्न थाले। ट्याक्टरमा बेल्चा हान्ने मजदुरका रूपमा सुरु भएको उनको यात्रा केही महिनामै चालक बन्ने अवस्थामा पुगेका थिए । आफ्नै मेहनत र सीपले चालक बनेपछि परिवारमा खुसी छाएको थियो। तर, त्यही परिवारको जीवन बदल्ने सपना बोकेर परदेशिएका विवेक दुबईमा भएको सवारीसाधनमा आगलागी हुँदा ज्यान गुमाउनु पर्यो ।विवेककी आमा डालोदेविका खवासका अनुसार कक्षा चार पास गरेपछि उनी मेचीनगर–११ स्थित बलभद्र जनता माध्यमिक विद्यालयमा कक्षा पाँचमा भर्ना हुन गएका थिए। तर, पढाइमा कठिनाइ भएपछि विद्यालय जान छाडे। ‘कक्षा चार पास गरेपछि विवेक कक्षा पाँचमा नाम लेखाउन गएका थिए । शिक्षकले पढ्न लगाउँदा नसकेपछि स्कुल जानै मानेन,’ डालोदेबिले आमाले विगत सम्झिँदै भनिन्, ‘घरमा पढ्ने वातावरण पनि थिएन । गरिबीले गर्दा गुजारा चलाउन मजदुरी गर्नैपर्ने अवस्था थियो । त्यसपछि पढ्नै गएन ।’ पढाइ छाडेपछि साथीहरूसँगै सवारीसाधनमा काम गर्न थालेका विवेकले केही महिनामै चालक बनेको खबर घरमा सुनाए । ‘साथीहरूसँग गाडीमा काम गर्न थालेको थियो। दुई–चार महिनापछि ड्राइभर भएँ भन्यो। हामीलाई निकै खुसी लागेको थियो,’ आमाले भनिन् । 

मजदुरपछि चालकसम्मको यात्रा

सवारी चलाउन सिक्दै गएका विवेकले सानो सवारीसाधनको चालक अनुमतिपत्र निकालेपछि विभिन्न कम्पनीमा चालकका रूपमा काम गर्न थालेका थिए । उनले इलामको खानेपानी संस्थामा समेत चालकको जिम्मेवारी सम्हालेका थिए । छोरीको जन्मपछि उनको जिम्मेवारी थपियो । आफूले बाल्यकालमा भोगेको अभाव छोरीले भोग्न नपरोस् र राम्रो शिक्षा पाओस् भन्ने उनको चाहना थियो। त्यसैले छोरीलाई मेचीनगर–९ स्थित होलिवेल अंग्रेजी विद्यालयमा भर्ना गराएका थिए । नेपालमा चालकको कामबाट हुने आम्दानीले परिवारको आवश्यकता पूरा गर्न कठिन भएपछि उनी वैदेशिक रोजगारीमा जाने निर्णयमा पुगे । अञ्जली ओभरसिजमार्फत दुबईको आजमानस्थित इभरगोल्ड कम्पनीमा पुगेका विवेकले सुरुमा क्लिनरको काम गर्नुपर्‍यो । नेपालमा चालकको अनुभव भए पनि विदेशमा आफ्नो सीपअनुसारको काम पाउन उनलाई सहज नभएपछि उनले दुबईको चालक अनुमतिपत्र निकाल्ने प्रयास थाले। एक वर्षको प्रयास- परीक्षापछि लाइसेन्स पाएका उनले कम्पनीको सानो सवारीसाधन चलाउने जिम्मेवारी पाए । विवेकले मासिक १ हजार ७ सय दिराम कमाउने गरेको उनकी श्रीमती रेनुका चौधरी खवासले बताइन् । विदेशमा चालक बनेपछि परिवारको आर्थिक अवस्था सुधारिने अपेक्षा गरिएको थियो । तर, आम्दानीको ठूलो हिस्सा ऋणको ब्याज, छोरीको विद्यालय शुल्क र घरखर्चमै खर्च हुन्थ्यो । ‘ऋणको ब्याज घटाउन, नानीको स्कुल फी तिर्न र घरको रासनको व्यवस्था गर्न मात्रै पुग्थ्यो,’ रेनुकाले भनिन्। चालक बन्ने प्रक्रियादेखि वैदेशिक रोजगारीमा जान लाग्दासम्म परिवारले करिब नौ लाख रुपैयाँ ऋण लिएको थियो । संयुक्त परिवारमा बस्दै आएका विवेकको कमाइमा वृद्ध आमा, श्रीमती, छोरी, भाइ–बुहारीसहित नौ सदस्यीय परिवार आश्रित छन् । उनको मृत्युपछि सात वर्षीया छोरीले बाबुको साथ गुमाएकी छन् । वृद्ध आमाले बुढेसकालको सहारा गुमाएकी छन् । श्रीमतीले जीवनसाथी मात्र होइन, नौ सदस्यीय परिवारको आर्थिक भरोसा पनि गुमाएका छन् । परिवारको खुसी फर्काउने आशामा विदेशिएका विवेकको कानुनी प्रक्रियापछी शब त फर्किएला तर, विवेक भने कहिल्यै नफर्किने गरी अस्ताएपछि नौ लाख रुपैयाँ ऋण, आठ धुर जमिन, छोरीको अधुरो भविष्य र परिवारको अभिभावकत्व  जिम्मा उनको श्रीमतिको काधमा आएको छ । परिवारको नाममा आठ धुर जमिन भए पनि बासले टिन छाएको, भेनियरको पत्तीको टाटिको बेरा लगाएको घर छ । ऋणको साँवा घटाउने, छोरीलाई पढाउने र केही वर्षपछि आफ्नै घर बनाउने योजना अधुरो रहेको छ । 

घर फर्किन २२ दिन बाँकी हुँदा मृत्यु:

विवेकको भिसा सकिन २२ दिन मात्र बाँकी थियो। परिवार उनी घर फर्किने दिनको प्रतीक्षामा थियो । भिसा सकिनै लागेपनी केही वर्ष त्यहाँको कम्पनीमा काम गर्न योजना बनाएर कागजातको सिभिसमेत पठाएको र मेहनत गरेर ऋण घटाएपछि परिवारसँगै बसेर बाँकी सपना पूरा गर्ने विवेकले योजना सुनाउने गरेको उनकी श्रीमति रेनुकाको भनाइ छ ।दुर्घटनापछि दुबई प्रहरीले शवको पोस्टमार्टमसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। नेपालमा रहेका परिवारले विवेकको शव स्वदेश ल्याइदिन आग्रह गरिरहेका छन्।

 विवेकको हत्याकी मृत्यु ? 

विवेकको मृत्युले परिवारलाई शोकमा मात्र डुबाएको छैन, घटनाको प्रकृतिलाई लिएर अनेक प्रश्नसमेत जन्माएको छ । परिवारका सदस्यले उनले नियमित रूपमा चलाउँदै आएको सवारीसाधनमा कसरी आगलागी भयो र आगो यति भयावह कसरी बन्यो भन्नेबारे स्पष्ट अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।सवारीसाधनको झ्यालमा सिसा हुँदाहुँदै पनि विवेकले बाहिर निस्केर ज्यान जोगाउने प्रयास किन गर्न सकेनन् भन्ने प्रश्न परिवारको छ। आगलागी हुँदा झ्याल फुटाएर बाहिर निस्कने सम्भावना थियो कि थिएन, उनी गाडीभित्रै कसरी जलेर मृत्यु हुने अवस्थामा पुगे भन्ने विषय परिवारका लागि अझै रहस्य बनेको छ।परिवारले दुबई प्रहरीले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गर्नुपर्ने माग गरेको छ। आगलागीको कारण, सवारीसाधनको प्राविधिक अवस्था, सम्भावित लापरबाही र घटनाका बेला चालकलाई उद्धारको अवसर नपाएको विषय अनुसन्धानबाट खुल्नुपर्ने उनीहरूको अपेक्षा छ। त्यस्तै, घटनाको सत्यतथ्य सार्वजनिक गर्नुका साथै मृतकका परिवारलाई कानुनअनुसार प्राप्त हुने बीमा, क्षतिपूर्ति तथा अन्य राहत उपलब्ध गराउन सम्बन्धित कम्पनी, म्यानपावर संस्था र नेपाली दूतावासले पहल गर्नुपर्ने परिवारको माग छ।