झापा । भाइटिकाको दिन मादक पदार्थ सेवनपछि भएको विवादले झापाका दुई स्थानमा झडपको रूप लिँदा छ जना घाइते भएका छन् । शिवसताक्षी नगरपालिका र गौरादह नगरपालिकामा भएका छुट्टाछुट्टै घटनामा उनीहरू घाइते भएका हुन् ।
शिवसताक्षी नगरपालिका–७ लालपानीमा गएराति करिब ११ः५५ बजे दुई पक्षबीच सामान्य विवाद हुँदा कुटाकुट भएको थियो। मादक पदार्थ सेवन गरेका दुई पक्षबीच सुरु भएको विवादले उग्र रूप लिएपछि भएको कुटपिटमा तीन जना घाइते भएका छन्।
घाइते हुनेमा शिवसताक्षी–७ का ३३ वर्षीय दिपेश चुडाल, सोही ठाउँका ३३ वर्षीय प्रविण रोक्का र कनकाई नगरपालिका–४ का ४० वर्षीय जीवन रोक्का छन्। उनीहरूको कनकाई नगर अस्पताल सुरुङ्गामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सोही घटनामा कुटपिटमा संलग्न शिवसताक्षी–७ का ४० वर्षीय रमेश भन्ने अबियन्त्र श्रेष्ठ पनि घाइते भएका छन्। उनको समेत सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न रहेको आरोप लागेका शिवसताक्षी–७ का ४० वर्षीय डिल्लीराम चुडाल र ३५ वर्षीय देवीप्रसाद चुडाल भने फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, गौरादह नगरपालिका–२ हाँसखोरामा गएराति करिब १२ः३० बजे चुरोटको विषयलाई लिएर दुई जनाबीच विवाद हुँदा झडप भएको छ।
मादक पदार्थ सेवन गरेका स्थानीय २९ वर्षीय प्रदीप बुढाथोकी र २९ वर्षीय मिलन राईबीच चुरोटको विषयमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि राईले बियरको बोतलले बुढाथोकीको टाउकोमा प्रहार गरेका थिए। त्यसपछि बुढाथोकीले पनि राईमाथि बियरको बोतल प्रहार गरेको प्रहरीले जनाएको छ।
दुवै जनाको टाउकोमा चोट लागेको छ। उनीहरूलाई गौरादह नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
भाइटिकाको रात मादक पदार्थ सेवनपछि भएका यी दुई छुट्टाछुट्टै घटनामा छ जना घाइते भएका छन्।





