झापा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आज बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताएका छन् ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलीले उद्दार जारी राखेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी थापाले जानकारी दिए।