झापा । भारतबाट झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्र हुँदै  जङ्गली हात्ती नेपालतर्फ प्रवेश गर्न थालेपछि सुरक्षा सतर्कता बढाइएको छ ।नेपाल–भारत सीमा क्षेत्रमा हात्तीले नेपालतर्फ प्रवेश गरी प्रसाद गौडालगायत स्थानीयवासीका घर भत्काउने र पाक्न लागेको धान खाने गर्न थालेपछि हात्तीलाई भारततर्फै फर्काउन बुधबारदेखि सुरक्षा सतर्कता उच्च पारिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

प्रवेश रोक्न र सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपालको बीओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्यापिड रेस्पोन्स टिम, विभिन्न सङ्घसंस्था तथा स्थानीय किसान परिचालन भएका छन्।सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयवासीले विभिन्न उपकरण तथा सवारीसाधन प्रयोग गरी हात्तीको निगरानी र रोकथाम गरिरहेका छन् । यसका लागि १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरीका दुई ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरीका एक–एकवटा साइरन जडित सवारीसाधन तथा नेपाल प्रहरीको एउटा ठूलो साइरन प्रयोगमा ल्याइएको छ। त्यसैगरी, निगरानीका लागि ९० भन्दा बढी ठूला लाइट, तीनवटा ट्याक्टर र १० भन्दा बढी मोटरसाइकल परिचालन गरिएको पोखरेलले जानकारी दिए । सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।