झापा । झापाको मेचीनगर–१४ मा शुभ दीपावलीको अवसरमा हुक्का–हुक्की तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । राजबंशी समाज विकास समिति र पाथीभरा टोल विकास समितिको संयुक्त आयोजनामा आदिवासी समुदायको लोपोन्मुख परम्परा हुक्का–हुक्कीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । मानबहादुर खड्काको अध्यक्षता तथा मेचीनगर–१४ का वडाध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथिहरूले सन्ठीबाट निर्मित तीनकुने हुक्का बालेर परम्परागत हुक्का–हुक्कीको प्रदर्शन गरेका थिए ।कार्यक्रममा आधा दर्जनभन्दा बढी एकल तथा सामूहिक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई पुरस्कार वितरण गरिएको कार्यक्रमका सहसंयोजक जयन्त राजबंशीले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष बाबुलाल सुब्बा, राजबंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तमकुमार राजबंशी, पाथीभरा टोल विकास समितिका अध्यक्ष मानबहादुर खड्का तथा मेलमिलाप समितिका संयोजक जीवन प्रसाईंलगायतले सम्बोधन गरेका थिए ।मुनिलाल राजबंशीले स्वागत गरेको कार्यक्रममा पूर्वजनप्रतिनिधिद्वय बिन्दा प्रसाईं, समाजसेवी अपूर्व डाँगी, सन्तोष राजबंशी, बाल सुबोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापा, युवा अभियान नेपालका अध्यक्षद्वय डिल्लीराम उप्रेती र पशुपति भट्टराई, सिताराम सामुदायिक अंग्रेजी विद्यालयका नवीन गौतम तथा प्रहरी चौकी चारआलीका इन्चार्ज किरण राईलगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन जोस्ना राजबंशी र कन्चना राजबंशीले गरेका थिए ।