काठमाडौं । गृह मन्त्रालयले तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम २४ घण्टाभित्र सम्पन्न गर्न तथा पर्वलाई सुरक्षित, मर्यादित र सुव्यवस्थित रूपमा मनाउन आग्रह गरेको छ ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको सूचनाअनुसार परम्परागत देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरिएको छ ।

मन्त्रालयले नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र सामाजिक सद्भाव कायम हुने गरी देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । कार्यक्रम स्वेच्छिक र मर्यादित ढंगले सञ्चालन गर्न तथा कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न निर्देशन दिइएको छ ।

त्यस्तै, विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायप्रति घृणा र द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, संगीत वा नाराको प्रयोग नगर्न आग्रह गरिएको छ ।

चाडपर्व मनाउने क्रममा जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न, मादक तथा लागूपदार्थ सेवन गरी सवारीसाधन नचलाउन पनि मन्त्रालयले सचेत गराएको छ ।

अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न, अस्पताल तथा वृद्धाश्रम आसपासमा विशेष सावधानी अपनाउन र सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न मन्त्रालयले अनुरोध गरेको छ ।

देउसी–भैलो वा चाडपर्वका क्रममा कुनै शंकास्पद गतिविधि, दुर्घटना वा समस्या देखिएमा प्रहरी नियन्त्रण कक्ष १०० वा आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।