झापा । वैदेशिक रोजगारीका क्रममा दुबईको आजमान स्टेटस्थित इभरगोल्ड कम्पनीमा कार्यरत झापाको मेचीनगर–१४ प्रगति टोलका विवेक खवासको सवारी आगलागीमा मृत्यु भएपछि परिवार शोकमा डुबेको छ । परिवारको आर्थिक गर्जो टार्न विदेशिएका विवेकको अचानक मृत्यु भएपछि उनको परिवार अन्योलमा परेको छ ।
परिवारको आर्थिक अवस्था सुधार्ने, सन्तानलाई शिक्षा–दीक्षा दिने र घरपरिवारको जिम्मेवारी पूरा गर्ने उद्देश्यले करिब दुई वर्षअघि दुबई पुगेका विवेक कम्पनीमा सानो सवारीसाधनका चालकका रूपमा कार्यरत थिए । ड्युटीमा रहेकै अवस्थामा अचानक सवारीसाधनमा आगलागी हुँदा उनको घटनास्थलमै मृत्यु भएको त्यहाँस्थित नेपालीहरूले बताएका छन् ।
सवारीमा आगलागी भएपछि पुगेको दुबई प्रहरीले शव पोस्टमार्टमसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । विदेशमा रहेर परिवारको सहारा बन्दै आएका विवेकको मृत्युपछि नेपालमा उनका परिवारले शव स्वदेश ल्याइदिन अनुरोध गरेका छन् ।
विवेकको परिवारमा वृद्ध आमा डालो खवास, श्रीमती रेनुका खवास, सात वर्षीया छोरी प्रिन्सि खवास, भाइ–बुहारीसहित आठ सदस्य छन् । विदेशबाट विवेकले पठाउने रकम नै परिवारको दैनिक गुजारा चलाउने मुख्य आधार बनेको थियो । उनको एकमात्र सन्तान प्रिन्सि धुलाबारीस्थित होलिवेल इङ्लिस स्कुलमा नर्सरी कक्षामा अध्ययनरत छिन् ।
विवेकका भाइ स्थानीय जिप्सन उद्योगमा मजदुरी गर्दै आएका छन् । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले विवेकको निधनपछि परिवारको भविष्यसमेत अन्योलमा परेको छ । दुई वर्षअघि बिर्तामोडको अञ्जली ओभरसिजमार्फत दुबई पुगेका विवेक उक्त कम्पनीमा क्लिनरको रुपमा कार्यरत थिए । पछि ड्राइभिङ लाइसेन्स निकालेपछि विवेकले सानो सवारी चलाउदै आएको भएपनी आधिकारिक कागजात भने नभएको परिवारले बताएको छ।
स्थानीय तहको सरकार तथा सम्बन्धित निकायसम्म आफ्नो पहुँच नपुगेको भन्दै परिवारले विवेकको शव नेपाल ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।





