झापा । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज सोमबार गाईपूजा गरिँदैछ। कार्तिक कृष्ण औँसीका दिन मनाइने गाईपूजामा हिन्दू धर्मावलम्बीहरूले गाईलाई माता, लक्ष्मी र समृद्धिको प्रतीकका रूपमा श्रद्धापूर्वक पूजा आराधना गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार गाईलाई पवित्र जनावरका रूपमा लिइन्छ। गाईको शरीरमा देवीदेवताको वास हुने विश्वासका साथ यस दिन गाईलाई नुहाइदिने, निधारमा टीका लगाइदिने, गलामा माला पहिर्‍याउने तथा मिठा परिकार र हरियो घाँस खुवाएर पूजा गर्ने गरिन्छ। घरमा गाई पाल्नेहरूले आफ्नै गाईको पूजा गर्ने र गाई नपाल्नेहरूले नजिकै रहेका गाईको पूजा गरी धार्मिक परम्परा निर्वाह गर्ने चलन छ।

हिन्दू धर्मशास्त्रमा गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोबर र गहुँतलाई धार्मिक संस्कार तथा पूजाआजामा प्रयोग गरिने भएकाले यसको विशेष महत्व रहेको छ। गाईको पूजा गर्दा सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।