झापा । भारततर्फ अवैध रूपमा चौपाया तस्करी गर्ने समूहले झापाको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेको छ । तस्करहरूको अवरोध र प्रहरीबीच भएको झडपमा सशस्त्र प्रहरीले लाठीचार्ज गर्दा एक जना घाइते भएका छन्।
झापा गाउँपालिका–१ स्थित लसुनगञ्ज सीमा क्षेत्रमा सोमबार राति करिब ११ः३० बजे घटना भएको हो। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतको कमाण्डमा २५ जनाको टोली परिचालन भएको थियो।
प्रहरी टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेका १८ वटा गोरु नियन्त्रणमा लिएर ल्याउँदै गर्दा १० देखि १५ जनाको समूहले बाटो अवरुद्ध गरेको थियो। नियन्त्रणमा लिइएका चौपाया लैजान नदिने भन्दै विवादमा उत्रिएको उक्त समूहले सशस्त्र प्रहरीमाथि हातपातको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
त्यसक्रममा भएको झडप नियन्त्रण गर्न सशस्त्र प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीको लाठीचार्जबाट झापा गाउँपालिका–२ निवासी ४१ वर्षीय विनोदकुमार बराइली घाइते भएका छन्। उनको दाहिने खुट्टाको तिघ्रामा चोट लाग्नुका साथै हड्डीसमेत फ्याक्चर भएको जनाइएको छ। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको थियो।
घटनाबारे इलाका प्रहरी कार्यालय कुमरखोदलाई जानकारी गराएपछि प्रहरी नायव निरीक्षक सुवास ढुंगानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
नियन्त्रणमा लिइएका १८ वटा चौपाया बीओपी टाँघनडुब्बामार्फत भन्सार कार्यालयमा बुझाइएको थियो। भन्सार कार्यालयमा २ लाख ५५ हजार रुपैयाँ राजस्व बुझाएर व्यापारीहरूले नै ती चौपाया फिर्ता लगेको प्रहरी स्रोतले जनाएको छ । सीमावर्ती झापा गाउँपालिकाको लसुनगञ्ज क्षेत्रबाट लामो समयदेखि चौपाया तस्करी हुँदै आएको स्थानीयको गुनासो छ । तस्करी नियन्त्रणका क्रममा प्रहरी र तस्कर समूहबीच नै झडप हुन थालेपछि सीमाक्षेत्रको सुरक्षा चुनौती थपिएको छ।





