चारआली । बज्र इभेन्ट क्लव र चारआली जेसीजकाे संयुक्त आयोजनामा चारआलीमा नेपथ्य लाइभ कन्सर्ट सम्पन्न भएको छ ।कन्सर्टमा करिव १० हजार दर्शकले भरपुर मनोरञ्जन लिएका छन् । टिकट लिएका दर्शकको संख्या ७ हजार र अन्य करिव ३ हजारबढीले कन्सर्टमा सहभागी भएको जनाएको छ । मेचीनगर-१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको कम्पाण्डमा चारआली जेसीज र बज्र इभेन्ट क्लव झापाको संयुक्त आयोजनामा सो कन्सर्ट भएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं.२ गण झापाका सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यलगायतका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।नेपालकै चर्चित ब्याण्ड नेपथ्यको लाइभ कन्सर्टमा लोकप्रिय राष्ट्रिय कलाकार अमृत गुरुङको सानदार प्रस्तुतिले दर्शकहरु भरपुर मनोरञ्जन लिएका थिए । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षक निशेष चापागाईको कमाण्डमा १५० जना, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरेबाट सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटुवालको कमाण्डमा ५७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा २० जना ट्राफिक गरी २२७ सुरक्षाकाे ब्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





