झापा । नेपाल-भारतमा सीमा क्षेत्र किसनगन्जमा भारतीय प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतीय प्रहरीले लागुऔषध तस्करीविरुद्ध कडाइ गरेसँगै नेपालमा लागूऔषध तस्करी गरेर कारोबार गर्ने दुईजनालाई नियन्त्रणमा लिइएको हो । सीमावर्ती भारतीय क्षेत्रमा प्रहरीको सक्रियता बढेपछि नेपाल–भारत सीमामा लागूऔषध तस्करी नियन्त्रणमा केही प्रभाव परेको देखिएको छ।

किशनगंज प्रहरी अधीक्षक सन्तोष कुमारको निर्देशनमा सञ्चालन भइरहेको विशेष अभियानअन्तर्गत बहादुरगंज प्रहरी चौकी र एएनटीएफ किशनगंजको संयुक्त टोलीले २७५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ।

बहादुरगंज रजिस्ट्री कार्यालय नजिक सवारीसाधन चेकजाँचका क्रममा अस्पताल चोकबाट आउँदै गरेको कालो हिरो एक्स्ट्रीम मोटरसाइकल रोकेर खानतलासी गर्दा लाडला अन्सारीको साथबाट उक्त लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा लाडला अन्सारी र शाहिद आलम रहेका छन्।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा दुवै युवाले लागूऔषध खरिद–बिक्रीमा संलग्न रहेको स्वीकार गरेका छन्। बरामद २७५ ग्राम ब्राउन सुगरको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ५५ लाख भारतीय रुपैयाँ रहेको जनाइएको छ।

किशनगंज प्रहरीले सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि विशेष निगरानी र सवारीसाधन जाँचलाई तीव्र बनाएको छ। प्रहरीको पछिल्लो सक्रियताले सीमापार लागूऔषध कारोबारमा संलग्न समूहहरू दबाबमा परेको देखिएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै हुने लागूऔषध ओसारपसार झापासहित पूर्वी नेपालका लागि चुनौती बन्दै आएको छ ।