झापा । झापामा २ हजार ३३९ परिवारले आगामी मङ्सिर मसान्तसम्म जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने भएका छन् । स्थानीय तहबाट प्रमाणीकरण भई जिल्ला भूमि समस्या समाधान समितिमा प्राप्त विवरणमाथि प्रारम्भिक छानबिन सम्पन्न भएपछि लालपुर्जा वितरणको प्रक्रिया अघि बढाइएको हो।
जिल्ला भूमि समस्या समाधान समितिका अनुसार बुद्धशान्ति गाउँपालिकाका १ हजार ३६४, अर्जुनधारा नगरपालिकाका ९६४ र मेचीनगर नगरपालिकाका ११ परिवारको विवरण प्रमाणीकरण प्रक्रियामा समावेश गरिएको छ। प्राप्त विवरणमाथि आवश्यक छानबिन गरी कार्यविधिअनुसार प्रक्रिया पूरा गर्न सार्वजनिक सूचना जारी भइसकेको छ।
समितिले सार्वजनिक बिदा तथा कानुनअनुसार पूरा गर्नुपर्ने प्रक्रियागत कामका कारण केही समय लाग्ने भएकाले मङ्सिर मसान्तसम्म लालपुर्जा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिन मन्त्री प्रतिभा रावलबाट थप चार जना जनशक्ति उपलब्ध भएको छ। आवश्यकताअनुसार अन्य निकायका कर्मचारीसमेत परिचालन गरिने समितिले जनाएको छ।
यसैगरी, विगतका आयोगबाट टुङ्गो लाग्न नसकेका अधुरा तथा अपुरा निवेदन भएका ५ हजार २९६ परिवारको समस्या समाधानका लागि तिहारपछि छुट्टै टोली परिचालन गरिने भएको छ। सार्वजनिक बिदाका दिनसमेत काम गरेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनअनुसार लालपुर्जा उपलब्ध गराउने समितिको तयारी छ।
झापाका १५ वटै स्थानीय तहसँग समन्वय भइरहेको जनाउँदै समितिले दमक, गौरादह, कमल र गौरीगञ्जको दैनिक प्रगति अनुगमन तथा समस्या सहजीकरणका लागि इलाका प्रशासन कार्यालय दमकका कर्मचारी सुरेन्द्रराज दाहाललाई विशेष जिम्मेवारी दिएको छ।
जिल्ला भूमि समस्या समाधान समितिका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार झापामा हालसम्म भूमिहीन दलित २ हजार ८९६, भूमिहीन सुकुम्बासी १५ हजार ७८३ र अव्यवस्थित बसोबासी ४१ हजार ८५१ परिवार गरी कुल ६० हजार ५३० परिवारले आवेदन दिएका छन्।
समितिले भूमिसम्बन्धी समस्या समाधानको कामलाई तीव्रता दिँदै योग्य परिवारलाई कानुनबमोजिम लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।





