चारआली । झापाको मेचीनगरस्थित चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्ताले तिर्दै आएको खानेपानीको महसुल घटाउने निर्णय गरेको छ । संस्थाको बिहीबार सम्पन्न १८औँ वार्षिक साधारण सभाले अध्यक्ष राजन चिमरियाद्वारा प्रस्तुत महसुल घटाउने प्रस्ताव पारित गरेसँगै आगामी मंसिर महिनादेखि नयाँ दर लागू हुने भएको हो ।
साधारण सभाको निर्णयसँगै चारआली क्षेत्रका खानेपानी उपभोक्ताले मासिक रूपमा तिर्दै आएको महसुलमा राहत पाउने भएका छन्। संस्थाले पानीको खपतका आधारमा विभिन्न तहमा महसुल घटाएको हो।
नयाँ निर्णयअनुसार मासिक १० हजार लिटरसम्म पानी उपभोग गर्ने उपभोक्ताले अब न्यूनतम मासिक १७५ रुपैयाँ मात्रै महसुल तिर्नुपर्नेछ। यसअघि उक्त परिमाणको पानी उपभोग गर्दा २०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो।
त्यसैगरी, मासिक ११ हजारदेखि २० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताले यसअघि प्रतिहजार लिटर ३२ रुपैयाँ तिर्दै आएकामा अब ३० रुपैयाँ मात्रै तिरे पुग्नेछ। २१ हजारदेखि ३० हजार लिटरसम्म पानी उपभोग गर्नेका लागि प्रतिहजार लिटर ४२ रुपैयाँ रहेको महसुल घटाएर ४० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, मासिक ३१ हजार लिटरभन्दा बढी पानी खपत गर्ने उपभोक्ताले प्रतिहजार लिटर ६५ रुपैयाँ तिर्नुपर्ने पुरानो व्यवस्थालाई परिवर्तन गर्दै अब ६० रुपैयाँ मात्रै तिर्नुपर्ने निर्णय गरिएको छ।
महसुल घटाउने निर्णयले साना तथा ठूला सबै खाले उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने संस्थाको अपेक्षा छ। उपभोक्तामाथिको मासिक आर्थिक भार कम गर्ने उद्देश्यले महसुल समायोजन गरिएको अध्यक्ष चिमरियाले बताए।
साधारण सभाको उद्घाटन गर्दै कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकले खानेपानी आयोजनाको विस्तार र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने बताए। उनले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले यसको पहुँच विस्तार र व्यवस्थापनमा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख सुमन भट्टराई, काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
साधारण सभामा मेचीनगर–१२ का वडाध्यक्ष तथा संस्थाका पूर्वअध्यक्ष मधुसूदन निरौला, मेचीनगर–११ का वडाध्यक्ष रुद्र डाँगी, धुलाबारी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष धनकाजी खत्री, संस्थाका पूर्वअध्यक्ष शरद शिवाकोटीलगायतको उपस्थिति थियो।
संस्थाका अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्षको वार्षिक प्रतिवेदनसँगै कोषाध्यक्ष साउन मेचे (बादल) ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाकी उपाध्यक्ष मैया कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रेमराज घिमिरेले गरेका थिए।
खानेपानी संस्थाको आफ्नै सभाहलमा सम्पन्न साधारण सभाले महसुल घटाउने निर्णयसँगै संस्थाको आगामी योजना, आर्थिक अवस्था र सेवा विस्तारका विषयमा समेत छलफल गरेको थियो।





