एजेन्सी । फ्रान्समा विद्यालयको दयनीय अवस्था, कर्मचारी अभाव र बढ्दो महँगीविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनका क्रममा कम्तीमा एक हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन् । देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा आगजनी, तोडफोड र लुटपाटका घटना भएको फ्रान्सेली सरकारले जनाएको छ । पेरिसमा साँझसम्म प्रदर्शनकारी र दंगा नियन्त्रण प्रहरीबीच झडप भएको थियो । प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। राजधानीसहित विभिन्न स्थानमा भवन र सवारीसाधनमा आगजनी गरिएको छ। लिमोज सहरको नगर भवनमा लागेको ठूलो आगोका कारण भवनको छानाको केही भाग भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन्। लियोनमा पर्यटकीय सूचना केन्द्रमा समेत आगजनी भएको छ । लियोनका मेयर ग्रेगोरी डुसेले पर्यटकीय सूचना केन्द्रमा भएको आगजनीलाई सहरका लागि दुःखद घटना भनेका छन्। ऐतिहासिक तथा प्रसिद्ध भवनमा आगजनी हुनु सहरका लागि ठूलो क्षति भएको उनले फ्रान्सेली सञ्चारमाध्यम बीएफएम टीभीसँग बताएका छन् । स्थानीय प्रहरीले भने आगो नियन्त्रण गर्न पुगेका अग्निनियन्त्रकलाई केही व्यक्तिले सुरक्षित रूपमा काम गर्न नदिएको जनाएको छ । प्रदर्शनकारीका जायज मागलाई अतिवामपन्थी समूहले बन्धक बनाएको आरोप लगाउँदै हिंसा भड्काउन मेलाँसोंको भूमिका रहेको दाबी गरेकी छन् । विद्यालयको कमजोर अवस्था र महँगीविरुद्ध सुरु भएको आन्दोलनमा राजनीतिक समूहहरूको सहभागिता बढेसँगै फ्रान्समा सार्वजनिक सुरक्षा र आगामी निर्वाचनको वातावरणबारे चिन्ता थपिएको छ ।