झापा । बिनोद बस्नेत स्मृति झापा गोल्ड कप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । प्रतियोगिता सातौँ संस्करण हो । शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका अध्यक्ष केदार गिरीले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । अध्यक्ष गिरीले प्रतियोगितासम्बन्धी आवश्यक व्यवस्थापन, मैदान तयारी, सुरक्षा र दर्शक सुविधाका सबै काम सम्पन्न भइसकेको बताउँदै प्रतियोगिता भव्य र सफल हुने विश्वास व्यक्त गरे । सो अवसरमा प्रतियोगितामा प्रयोग हुने आधिकारिक फुटबल र जर्सीसमेत सार्वजनिक गरिएको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा झापा गोल्ड कपका पूर्व अध्यक्षहरू होम पाण्डे र महेन्द्र गिरीले प्रतियोगिताले झापाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आयोजक टिमलाई सफलताको शुभकामना दिए ।

त्यसैगरी भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले झापा गोल्ड कप राष्ट्रियस्तरकै प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित भएको बताउँदै सातौँ संस्करण थप व्यवस्थित र प्रतिस्पर्धात्मक हुने अपेक्षा व्यक्त गरे ।

गोल्ड कपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन केशव भट्टराईले गरेका थिए ।