- प्रा.डा. युवराज शर्मा
शरीरमा खाना राम्रोसँग नपचेमा विभिन्न स्वास्थ्य समस्या आउन सक्छन् । पेट खराब हुने, ग्यास भरिने, छातीमा जलन हुने, वाकवाकी लाग्ने, कब्जियत वा पखाला जस्ता समस्या पाचन प्रणालीमा खराबी आउँदा हुन्छन् ।
समयमा यसको उपचार गर्न नसके अल्सर, पायल्स जस्ता गम्भीर समस्या समेत ल्याउन सक्छ । त्यसैले शरीरलाई स्वस्थ र फूर्तिलो राख्न पाचन प्रणाली बलियो बनाउनु अत्यन्त जरुरी हुन्छ । किनकि पाचन प्रणालीले खानालाई पचाएर शरीरलाई शक्ति, ऊर्जा प्रदान गरेर शरीर चलायमान बनाउन मद्दत गर्छ ।
पाचन प्रणाली बलियो बनाउन के गर्ने ?
सुपाच्य खानपान
पाचन प्रणालीको समस्या मुख्यतया खानाकै कारणले हुन्छ । त्यसैले पाचन प्रणालीलाई बलियो बनाउन ताजा, सहजै पच्ने, मौसम अनुकूलको खानेकुरा खानुपर्छ । सागसब्जी, फलफूल, सलाद र पानीलाई आफ्नो नियमित खानामा समावेश गर्नुपर्छ । सकेसम्म फाइबरयुक्त खानेकुरा खानुपर्छ । माछामासुको सेवन कम गर्नु राम्रो हुन्छ ।
सन्तुलित खाना
शरीरले पचाउन सक्ने क्षमता भन्दा बढी खाना खाँदा पाचन प्रणालीमा गडबडी हुन्छ । त्यसैले शारीरिक बनावटअनुसार खानाको मात्रा लिनुपर्छ । आवश्यकभन्दा कम खाए शरीरमा ऊर्जा पुग्दैन भने बढी भए पचाउन गाह्रो हुन्छ ।
सन्तुलित खाना नपुगेमा शरीरमा दुब्लो हुने, कमजोर हुने, रोगप्रतिरोधात्मक क्षमता कम हुने समस्या हुन्छ । त्यस्तै धेरै खाएमा मोटोपन बढ्ने हुन्छ । मधुमेह, उच्च रक्तचाप, कलेजोमा बोसो जम्ने जस्ता रोग हुन सक्छ । त्यसैले शारीरिक कसरत हुने कामअनुसार खाना खानुपर्छ । जसले पाचनलाई चुस्त बनाइराख्न मद्दत गर्छ ।
स्वस्थ्यपरक खाना
कुहिएको, बासी र सडेगलेको, फ्रिजमा धेरै दिनसम्म राखेको खानाको सेवनले शरीरमा संक्रमण हुने जोखिम बढी हुन्छ । त्यसैले यस्ता खानेकुराबाट टाढा रहने, फ्रिजमा राखेको खानेकुरा भन्दा ताजा खानेकुरा खानुपर्छ । ताजा, सुपाच्य, पोषिलो खानेकुराले शरीर बलियो, निरोगी र ऊर्जावान् हुन्छ । पाचन प्रणाली पनि चुस्त हुन्छ ।
शारीरिक व्यायाम
पाचन प्रणाली चुस्त बनाउनका लागि शारीरिक व्यायाम पनि जरुरी हुन्छ । पसिना निस्किने गरी व्यायाम गरेमा शरीर सुगठित हुनुका साथै पाचन प्रणाली पनि बलियो बनाउँछ । यसले शरीरमा भएको बोसोलाई पगाल्न मद्दत गर्छ । पेटभरि खाने तर निष्क्रिय बस्ने व्यक्तिको पाचन प्रणाली कमजोर हुन्छ ।
खराब खानपान
प्रशोधित खानेकुरा, मैदाजन्य खानेकुरा, चाउचाउ, चिप्सजस्ता जंकफुड, कोल्ड ड्रिंक, तारेको, भुटेको, मद्यपान, धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढा रहनुपर्छ । यस्ता खानेकुराको सेवनले प्रोबोयोटिक जीवाणु कमजोर भएर पाचन प्रणालीलाई कमजोर बनाउँछ ।
व्याक्टेरियाले हार्मोनको सन्तुलन कायम राख्ने, विषादी बाहिर निकाल्ने तथा भिटामिनलगायत अन्य हिलिङ तत्वको निर्माणमा सहयोग गर्छ । जसले गर्दा शरीरको पाचन प्रक्रिया चुस्त रहन्छ ।
रोगअनुसार खानेकुरा
मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरोल, मुटुरोग, सिरोसिस, मिर्गौलासम्बन्धी रोग छ भने त्यहीअनुसार चिकित्सकलाई जाँच गराएर खाना खानुपर्छ । रोगअनुसार केही समयको लागि खानेकुरा बार्नुपर्ने पनि हुन सक्छ । पोषण तत्वको कमी तथा उच्च क्यालोरीयुक्त आहारका कारण शरीरमा खराब व्याक्टेरियाको स्तर बढेर आन्द्रासम्बन्धी समस्या निम्तिन सक्छ ।
श्रोत: अनलाइन खबरबाट