एजेन्सी । चीनको दक्षिणपश्चिममा रहेको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको भूकम्पपछि चीनको केन्द्र सरकारले आपत्कालीन विपद् राहतका लागि पाँच करोड चिनियाँ युआन (करिब ७५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ । त्यस्तै, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि थप ३ करोड युआन छुट्याइएको छ । नाग्छु सहरको बाकेन काउन्टीमा हिजोराति १० बजेर ३३ मिनेटमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या हालसम्म १६ पुगेको छ । घाइतेको संख्याबारे यकिन विवरण सार्वजनिक भएको छैन । प्रारम्भिक विवरणमा ५४ जना घाइते उल्लेख थियो । चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले संयुक्त रूपमा विनियोजन गरेको पाँच करोड युआन उद्धार कार्य सञ्चालन गर्न तथा प्रभावित बासिन्दालाई सहायता उपलब्ध गराउन प्रयोग गरिँदै छ । राष्ट्रिय विकास तथा सुधार आयोगले केन्द्रीय बजेटबाट थप तीन करोड युआन छुट्याएको छ । उक्त रकम क्षतिग्रस्त पूर्वाधार तथा सार्वजनिक सेवा सुविधाको पुनःस्थापनामा खर्च गरिने जनाइएको छ।भूकम्पपछि चीनले राष्ट्रिय भूकम्प आपतकालीन प्रतिक्रियाको स्तर चौथोबाट बढाएर तेस्रो तोकेको छ। साथै, राष्ट्रिय प्राकृतिक विपद् राहतसम्बन्धी चौथो तहको आपतकालीन प्रतिक्रिया पनि सक्रिय पारिएको छ । चीनको राष्ट्रिय अग्नि तथा उद्धार बलले उद्धार कार्यका लागि ३५० जना उद्धारकर्मी र ८३ वटा सवारीसाधन परिचालन गरेको छ । आपतकालीन व्यवस्थापन मन्त्रालयले विपद्बाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन गर्न सिजाङको आपतकालीन व्यवस्थापन विभागसँग समन्वय गर्दै ‘विङ लुङ’ मानवरहित विमान (ड्रोन) परिचालन गरेको छ । आज बिहान सबेरै साढे ६ बजेको समयसम्म १२० जना उद्धारकर्मी र २७ वटा सवारीसाधन भूकम्पको अति प्रभावित क्षेत्रमा पुगिसकेका थिए। सिजाङ अग्नि तथा उद्धार टोलीका थप २३० जना उद्धारकर्मी र ५६ वटा सवारीसाधन सहयोगका लागि घटनास्थलतर्फ पुुगिसकेका छन् । यसअघि बिहान साढे ४ बजेसम्म केन्द्र, स्वायत्त क्षेत्र, सहर र काउन्टी तहका अधिकारीहरूले राहत सामग्री परिचालन गरी प्रभावित क्षेत्रमा चरणबद्ध रूपमा पठाइसकेका थिए। जसमा एक हजार वटा पूर्वनिर्मित अस्थायी आवास, ३२ सय ३९ वटा पाल, २८ सय २१ वटा फोल्डिङ खाट र ४२ सय ८० वटा सिरकलगायत अत्यावश्यक सामग्री छन् । भूकम्प प्रभावित मारु टाउनशिपका गाउँहरूमा अस्थायी आश्रयस्थल निर्माण गरिएको छ। उद्धारकर्मीहरूले प्रभावित बासिन्दाका लागि खाना तयार पार्ने तथा अन्य राहत कार्यसमेत सञ्चालन गरिरहेका छन् ।चीनको आपतकालीन व्यवस्थापन मन्त्रालय र सिजाङका स्थानीय अधिकारीहरूले खोज तथा उद्धार, राहत वितरण र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक स्रोतसाधन परिचालन गरिरहेको जनाइएको छ।





