काठमाडौं । साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको हो । साउदी ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान प्रशोधन केन्द्रतर्फ लक्षित ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो। त्यस क्रममा खसेको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको गाडीमा आगलागी भएको थियो।
मन्त्रालयले मृत्यु हुनेमा एक नेपाली र एक फिलिपिनो नागरिक रहेको पुष्टि गरेको छ। घटनामा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन्। मृतकको पहिचान भने खुलाइएको छैन । घटनापछि सुरक्षा तथा उद्धार निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।




