नयाँदिल्ली । नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँगको आर्थिक तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउँदै विपद् व्यवस्थापन, स्वच्छ ऊर्जा, पोषण र आपसी समृद्धिका क्षेत्रमा सहकार्यलाई संस्थागत गर्नुपर्ने धारणा राखेका छन् । भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी हुँदै उहाँले बदलिँदो विश्व व्यवस्था र नेपाल–भारत सम्बन्धका विविध पक्षमा नेपालको धारणा राखेका हुन् ।
शिखर सम्मेलनअन्तर्गत भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँगको संवादमा अर्थमन्त्री वाग्लेले विश्वका ठूला शक्तिहरूबीचको प्रतिस्पर्धा, बहुपक्षीय संस्थाप्रतिको घट्दो समर्थन र देशहरूबीच बढ्दै गएको स्वार्थकेन्द्रित सहकार्यबारे प्रश्न उठाएका थिए। उनले द्विपक्षीय, त्रिपक्षीय तथा उपक्षेत्रीय सहकार्यलाई विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा औपचारिक संस्थागत संरचनामार्फत अघि बढाउन सकिने सम्भावनाबारे धारणा राखे।
वाग्लेले नेपालमा २०७२ सालको विनाशकारी भूकम्प तथा हालैका विपद्का बेला भारतले तत्काल सहयोग उपलब्ध गराएको स्मरण गर्दै त्यसप्रति आभार व्यक्त गरेका थिए। उनले विपद्का घटनापछि भारतले केही घण्टाभित्रै सहयोग उपलब्ध गराएको उल्लेख गर्दै दुई देशबीचको सहकार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकतासमेत औँल्याए । विशेष सत्रमा अर्थमन्त्री वाग्लेले नेपाल र भारतबीचको भौगोलिक निकटता, गहिरो सांस्कृतिक सम्बन्ध र आपसी अवसरका विषयमा धारणा राखेका थिए। उनले नेपाल–भारत सम्बन्धलाई विशिष्ट र निकट सम्बन्धका रूपमा व्याख्या गर्दै दुवै देशबीचको सहकार्यबाट क्षेत्रीय विकास र समृद्धिका अवसर विस्तार गर्न सकिने बताए ।
सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन सत्रमा सहभागिता जनाए । उक्त सत्रपछि प्रधानमन्त्री मोदी र वाग्लेबीच संक्षिप्त भेटवार्ता भएको थियो।
एनडीटीभी वर्ल्ड समिट २०२६ मा विश्वका राजनीतिक नेतृत्व, अर्थशास्त्री, नीतिनिर्माता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू सहभागी छन् । सम्मेलनको मुख्य विषयवस्तु ‘ए वर्ल्ड बिटविन अर्डर्स’ अर्थात् बदलिँदो विश्व व्यवस्थाको संक्रमणकालमा अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र र सहकार्यका चुनौती तथा अवसरमाथि केन्द्रित छ।





